२०८१ वैशाख १२ गते | 24th of April 2024

‘समृद्ध महानगर काँग्रेसको सपना’

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २४ गते १४:३१

पोखरा, २४ बैशाख ।
‘समृद्ध पोखराको लागि नेपाली काँग्रेसको जीत अपरिहार्य छ ।’ लेखनाथमा घरदैलोका क्रममा महानगर प्रमुखका उम्मेदवार रामजी कुवँरले लेखनाथबासीसँग कुराकानी गर्दै भने–‘आम मानिसले कल्पना गरेको पोखरा बनाउन काँग्रेसको जीत पहिलो आधार हो ।’ पोखरा लेखनाथ महानगरपालिका ३२ नम्बर वडाको घरदैलो अभियानका क्रममा काँग्रेसले नजिते समृद्ध महानगरपालिका कल्पना गर्न नसकिने स्पष्ट पारे । ‘नेपाली काँग्रेसलाई भोट दिनुस् । समृद्ध महानगरपालिकाको परिकल्पनाले साकार रुप लिन्छ ।’ उनले भने—‘भिजन र सहकार्य गर्ने क्षमता काँग्रेस सँग मात्रै छ । हामीले जिते मात्रै पोखरा अन्तराष्ट्रिय शहर बन्न सक्छ ।’ कम्युनिष्टले समस्या मात्रै बल्झाउने तर समाधान गर्ने सामथ्र्य नभएकाले काँग्रेस पोखरा बिकासको पक्षधर भएको कुवँरको दावी छ । ‘कम्युनिष्टको काम समस्या बल्झाउने हो । समाधान गर्ने हैसियत उनीहरुसँग छैन ।’ उनी भन्छन्–‘जनतालाई सहकार्य र विकासको खाँचो छ । त्यसको लागि काँग्रेस एकमात्र विकल्प हो ।’
उनले पोखराको गुरुयोजना तयार गरेर आधुनिक पोखरा निर्माणको थालनी गर्ने प्रतिबद्धता जनाए । ‘काँग्रेस कास्कीले विकासका पाँचबर्षे घोषणापत्र जारी गरेको छ । त्यसको कार्यान्वयन गर्ने मेरो पहिलो दायित्व हो ।’ कुवँर भन्छन्–‘हामीसँग अथाह श्रोत साधन छन्, परिचालन हुन सकेको छैन । महानगरकै श्रोत उपयोग गरेर विकसित शहरको रुपमा स्थापित गर्न म प्रतिबद्ध छु ।’ ३२ कै सुकुम्बासी बस्तीलाई सम्बोधन गर्दै प्रमुखका उम्मेदवार रामजी कुवँरले सुकुम्बासीलाई लालपुर्जासँगै शिक्षा, स्वास्थ्य र ब्यवस्थित आवासका लागि सघाउने प्रतिबद्धता जनाए । वडाले उठाएका एजेण्डालाई समेत कार्यान्वयन गराउने तर्फ अग्रसर रहने कुवँरले बताए । उनले खाडी मुलुकमा गएका युवालाई महानगरमा पर्यटनको माध्यमबाट रोजगारी उपलब्ध गराएर सम्मानजनक तलव ब्यवस्था गर्ने कुवँरको भनाई छ ।
घरदैलो अभियानकै क्रममा उपप्रमुखकी उम्मेदवार सरस्वती गुरुङले लामो समयदेखि अलपत्र अवस्थामा रहेको क्षेत्रीय बसपार्क निर्माणलाई निर्वाचनको परिणामको भोलिपल्टदेखि नै सुरु गर्ने बताईन् । बसपार्क निर्माणलाई मुर्तरुप दिन सके महानगरको सवारी व्यवस्थापन सहज हुने भएकाले विजयपछिको पहिलो ध्यान बसपार्क निर्माणमा केन्द्रित हुने बताईन् । काँग्रेसले आश्वासन नबाड्ने भन्दै गर्न सक्ने काममा प्रतिबद्धता जनाउने बताईन् । कम्युनिष्टले जातजातिको नाममा समाज फुटाउने काम गरेको भन्दै गुरुङले जातिय समानता कायम गर्न काँग्रेस प्रतिबद्ध रहेको बताईन् । उनले नयाँबजार र न्यूरोडको सेवा सुविधा सबै वडामा समान वितरण गर्ने गर्ने भएकाले झुटा आश्वासन तिर नलागी काँग्रेसलाई बिजयी गराउन आग्रह गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *