२०८१ वैशाख ११ गते | 23rd of April 2024

पासपोर्ट लिन अब नयाँ व्यबस्था ; आवेदक आफैँ दूतावास पुग्नुपर्ने

खुल्लामन्च
 प्रकाशित: २०७४ माघ ४ गते ११:२३

वासिङटन डिसी (अमेरिका) – नेपाली पासपोर्ट (राहदानी) नवीकरण गर्नका लागि अब संबन्धित व्यक्ति आफैँ दूतावासमा उपस्थित हुनुपर्ने भएको छ ।

नेपाल सरकारले बिभिन्न देशमा रहेका आफ्ना दूतावासहरुलाई निर्देशन दिँदै अबदेखि पासपोर्ट नवीकरणका लागि संबन्धित व्यक्ति आफैैँ उपस्थित हुनुपर्ने जनाएको छ । यो निर्देशन अनुसार अमेरिकाको वासिङटन डिसीमा रहेको नेपाली दूतावासले सूचना जारी गर्दै नवीकरणका लागि संबन्धित व्यक्ति आफैँ उपस्थित हुनुपर्ने उल्लेख गरेको छ ।

‘पहिलेनै एमआरपी (मेसिन रिडेबल पासपोर्ट) लिइसकेकाहरुले नवीकरण गर्नका लागि आवेदन र शुल्क हुलाकबाट पठाउँदा पनि हुन्छ । तर एमआरपी नलिइसकेकाहरु जोसँग पुरानो हस्तलिखित पासपोर्ट छ, उहाँहरु भने दूतावासमा उपस्थित हुनुपर्ने भएको छ,’ डिसीस्थित नेपाली राजदूत डा. अर्जुनकुमार कार्कीले भने ।

दूतावासले पुरानो हस्तलिखित पासपोर्टलाई विस्थापित गरेर एमआरपी लिनका लागि यसअघिनै पटक पटक सूचना जारी गरिसकेको थियो । त्यो सूचनालाई वास्ता नगरेका वा पछि आवश्यक परेको बेलामा मात्र एमआरपी लिउँला भनेर बसेकाहरुलाई नयाँ व्यबस्थाले समस्या पारेको छ ।

‘अमेरिका आएको आठ वर्ष भैसक्यो । आउँदो दशैँमा नेपाल जाने योजना साथ पत्नीको एमआरपी लिने तयारीमा थिएँ । तर अहिले त एमआरपीका लागि डिसीनै पुग्नुपर्ने अवस्था आइलागेछ,’ टेक्ससको कोपेलमा बस्दै आएका एक नेपालीले हिमालय खबरसँग भने । तीन महिना अघिमात्र सपरिवार अमेरिकाको इष्टकोष्ट भ्रमण गरेर आएका उनले भने–‘डिसीनै जानुपर्छ भन्ने थाहा भएको भए त्यतिखेरै डिसीमा रहेको नेपाली दूतावासमा पसेर आवेदन दिइन्थ्यो नि । अहिले समस्यामा परियो ।’

दूतावासका अधिकारीहरुले भने पहिलोपल्ट एमआरपी लिँदा गलत व्यक्तिको हातमा पासपोर्ट नपुगोस् भन्ने सोचले यो नयाँ नियम लागु भएको दावी गरेका छन् । तर अमेरिका जस्तो भूगोल भएको देश र अमेरिकाको चारैतिर छरिएर नेपालीहरु रहेका कारण नयाँ नियमले उनीहरुलाई आर्थिक भार र मानसिक तनाव थपिएको छ ।

अमेरिकाको राजधानी डिसी जान पश्चिममा रहेको क्यालिफोर्नियाबाट ५ घण्टाको हवाई यात्रा गर्नुपर्छ । त्यस्तै टेक्ससबाट झण्डै चारघण्टा हवाई यात्रा गर्नुपर्छ भने हवाईटापुबाट त सात घण्टा लाग्छ । पहिले हुलाकबाटै फोटो, फर्म र शुल्क पठाएपछि डिसीस्थित दूतावास र न्यूयोर्कमा रहेको महाबाणिज्यदूतावासको कार्यालयले एमआरपी दिने व्यबस्था गरेको थियो ।

तर नेपाल सरकारले संसारका अरु साना देशलाई हेरेर बनाएको यो नियमले ठूलो क्षेत्रफल भएका देशमा बस्ने नेपालीलाई भने समस्या परेको छ । विशेषगरि अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, चीन जस्ता ठूलो भूगोल भएका देशमा रहेका नेपालीहरुलाई नयाँ नियमले अप्ठेरो परेको छ ।

‘एमआरपी लिनका लागि दूतावासमै आउन नसक्ने अवस्था भएमा ट्राभल डकुमेन्ट बनाएर नेपाल जाने र उतैबाट एमआरपी लिन पनि सकिन्छ,’ नेपाली राजदूत डा. कार्कीले भने । अमेरिकामा रहेका धेरै नेपालीहरुसँग अहिलेपनि पुरानो हस्तलिखित राहदानी छ । जुन काममा नआउने भएपनि ‘अहिले कहिँ जानुछैन, पछि चाहिएको बेलामा एमआरपी लिउँला नि’ भनेर बसेकाहरुलाई नेपाल सरकारको नयाँ नीतिले अप्ठेरो पारेको छ ।

नेपाली समुदायका अगुवाहरुले भने नयाँ व्यबस्थाले गर्दा धेरै नेपालीलाई अमेरिकाको नागरिकता लिन वाध्य बनाएको टिप्पणी गरेका छन् । अमेरिकामा ग्रीनकार्ड लिएर बसोबास गरेको ५ वर्षपछि अमेरिकी नागरिकताका लागि आवेदन दिन मिल्छ । डिसीमा पुगेर नेपाली पासपोर्ट नवीकरण गर्नुभन्दा आफु बसेकै ठाउँमा आवेदन दिन मिल्ने नागरिकताका लागि धेरै नेपालीहरु अग्रसर भएका छन् ।

अमेरिकाको पश्चिमी तट, दक्षिणी भागमा बसोबास गर्ने अधिकांश नेपालीहरुले वासिङटन डिसी टेकेका समेत छैनन् । किनकी डिसीसम्म पुग्ने उनीहरुको कामनै पर्दैन । पासपोर्ट नवीकरणका लागि एकहजार पाँचसय डलर खर्च गरेर डिसी पुग्नुपर्ने अवस्थालाई ध्यानमा दिएर नेपाल सरकारले नयाँ व्यबस्था गरिदेओस् भन्ने अमेरिकामा रहेका नेपालीहरुको आग्रह छ ।

स्रोत : हिमालयखबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *