२०८१ वैशाख ६ गते | 18th of April 2024

माओवादीले नजिते जनताको हार हुन्छ–गुरुङ

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २५ गते १५:३९

पोखरा, २५ बैशाख ।
नेकपा माओवादी केन्द्रका पोलिट्ब्यूरो सदस्य तथा कास्की ईञ्चार्ज राजकाजी गुरुङ ‘करण’ले स्थानिय तहको निर्वाचनमा माओवादीले नजिते जनताको हार हुने बताएका छन् । नेकपा माओवादी केन्द्र वडा नम्बर १ ले सोमबार टुँडिखेलमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले जनतालाई हार्नबाट जोगाउनकै लागि भएपनि माओवादीले जित्न आवश्यक रहेको बताउनुभएको हो । गणतन्त्र, संघीयता र संविधान माओवादीकै कारण आएको, सिंहदरबारको अधिकार गाउँमा ल्याउने माओवादी नै भएको र उज्यालो नेपाल माओवादीले नै ल्याएकाले माओवादीको जित सुनिश्चित रहेको उनको भनाई थियो ।
पोखरा लेखनाथ महानगरपालिकामा उपप्रमुखकी उम्मेदवार गोमा ढकालले समृद्ध पोखराको सपना पूरा गर्नका लागि आफूलाई जिताउन आग्रह गरिन् । उनले कामविहिन् भएर बसेको टुँडिखेललाई आफूले खेलमैदान बनाउने, नदी तथा खोला किनारमा तटबन्ध बाँध्नेलगायतका विकासका काम गर्ने आश्वासन दिएकी छिन् ।
चुनावीसभाअघी माओवादी केन्द्रले वडा नम्बर १ मा घरदैलो गरेको थियो । वडा नम्बर १ का माओवादी केन्द्रका उम्मेद्वार डिल्लीराम अधिकारी, महिला सदस्य शारदा सुवेदी, दलित महिला सदस्य स्यानी कान्छी सुनार तथा खुल्ला सदस्यहरु काजीमान लामा र मदन भण्डारीसहितको टोलीले सिमपानी, हरिचोक, नयाँगल्ली, विन्ध्यबासिनी, बगरचोक, ट्याक्सीचोक, वडाप्रहरी कार्यालय बगर वरपरको क्षेत्रमा घरदैलो गरेको चुनाव प्रचारप्रसार समिति वडा नम्बर १ का संयोजक तिलकप्रसाद कोइरालाले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २ मा नेकपा माओवादी केन्द्रले सोमबार पनि घरदैलो गरेको छ । वडा नम्बर २ का माओवादी उम्मेद्वार जीवनविक्रम राणा, महिला सदस्य रिना पुन गर्बुजा, दलित महिला सदस्य अञ्जु विक तथा खुल्ला सदस्य द्वय रुपलाल सुनार र निरजविक्रम रानासहितको उम्मेद्वारहरुको टोलीले सोमबार बिन्ध्यबासिनी, हरिचोक, मिरुवालगायतको क्षेत्रमा घरदैलो गरेको माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य तथा वडा नम्बर २ का ईञ्चार्ज भीमबहादुर विश्वकर्माले जानकारी दिए ।
पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रले सोमबार पनि घरदैलो गरेको छ । माओवादी केन्द्रका वडाध्यक्षका उम्मेद्वार सनकमान सिकेसहित महिला सदस्य राधा आचार्य अर्याल, दलित महिला सदस्य मनमाया विक र खुल्ला सदस्य द्वय खुमबहादुर पुन र प्रताप बानियासहितको टोलीले सोमबार पालिखेचोक, तेर्सापट्टी, नदीपुर, हमालटोल, साईटोल, कोपिलढुंगा लगायतका क्षेत्रमा घरदैलो गरेको चुनाव प्रचारप्रसार समिति वडा नम्बर ३ का संयोजक सुनिता बस्नेतले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *