२०८१ वैशाख १३ गते | 25th of April 2024

पोखरा जोगाउन मेरो उम्मेदवारी–कोइराला

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते २:०१

पोखरा, २६ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुखका प्रत्यासी सिरोज कोइरालाले पोखराको अस्थित्व कायम राख्नका लागि आँफुले उम्मेदवारी दिएको बताएका छन् । सबैले समृद्ध शहरको सपना बाँडेपनि कार्यान्वयन नभएको भन्दै उनले अन्तराष्ट्रिय स्तरको शहर बनाउन युवा पुस्ताको विकल्प नभएको उल्लेख गरे । पोखरालाई सुन्दर, स्वस्थ, सुरक्षित, सुब्यवस्थित र समृद्ध महानगरको रुपमा स्थापित गर्न उनले आफ्ना प्रतिबद्धता पत्र पनि सार्वजनिक गरेका छन् । ‘मेरो जीत नै समग्र पोखरेलीहरुको जीत हो । म दलप्रति होइन समग्र पोखरेलीहरुप्रति जिम्मेवार र जवाफदेही रहने छु ।’ कोइरालाले भने–‘मेरो पाँचबर्षे कार्यकाल पोखराका लागि ऐतिहासिक हुनेछ । यहि अवधीमा पोखरा साँच्चिकै स्मार्ट सिटीको रुपमा विकसित बन्नेछ ।’
राजनीति समग्र समाज र राष्ट्रको हितका लागि गरिनुपर्ने भन्दै उनले समाज र राष्ट्रको सेवा गर्न पार्टीको झण्डा बोक्नुपर्ने बाध्यता नभएको प्रष्ट्याए । स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरेपछि सामाजिक सञ्जालमा चर्चाको पात्र बनेका कोइरालाले महानगरलाई सेवामुखी र प्रविधीमैत्री बनाउन आँफुसँग दृढ संकल्पसहितको योजनाहरु रहेको दावी गरे । ‘गुनासो गरेर होइन, आफ्नो भूमिका आफैँ खोजेर समाजमा स्थापित हुनुपर्छ ।’ कोइराला भन्छन्–‘सामाजिक विसंगति, भ्रष्टाचार र गलत क्रियाकलापको मानसिकताबाट पोखरा बन्दैन । पार्टीगत राजनीतिले पनि सपनाको शहर बन्न सक्दैन ।’
तत्कालिन लेखनाथ नगरपालिकाको बेगनासतालमा जन्मिएका कोइराला पोखराका स्थायी बासिन्दा हुन् । उनले पोखरा र लेखनाथ विकासका परिकल्पनाहरु सामाजिक सञ्जाल र संचार माध्यमहरुबाट प्रश्तुत गरिरहेका छन् । ३८ बर्षीय कोइराला युवाहरु माझ लोकप्रिय व्यक्ति हुन् । उनले हेरालो साप्ताहिक पत्रिका प्रकाशन गरी सामाजिक तथा राजनीतिक परिवर्तन, सामाजिक सुरक्षा, समृद्धि एवम् न्यायका पक्षमा काम गरेका थिए । ‘म आँफै पर्यटन ब्यवसायी हो । पर्यटनका प्रत्येक समस्या मैले बुझेको छु, उनले भने–पोखराको समृद्धी पर्यटनले सम्भव छ । यसलाई पस्किने तरिका बदल्नुपर्छ ।’
नगरबासीलाई शुद्ध पिउने पानी ब्यवस्था गर्ने, यातायात सञ्जाल ब्यवस्थित गर्ने, छरपष्ट बिजुली, टेलिफोन र केबुलका तार भूमिगत गरी व्यवस्थित गर्ने, सुशासन सहित नागरिक सेवा प्रवाह लगाएतका योजना कोइरालाका छन् । यस्तै पर्यटनमा योगा र ध्यानको आयाम थप्ने, सम्पदा संरक्षण र सांस्कृतिक पक्षको जर्गेना, नगरभित्रका सरकारी विद्यालयलाई सवल र सशक्त बनाउने, विदेशी कामदारलाई श्रमस्वीकृति अनिवार्य गर्ने, नगरक्षेत्रमा फुटबल र क्रिकेटको अन्तराष्ट्रिय हव बनाउने, प्रत्येक वडामा आधुनिक पुस्तकालय स्थापना, सुकुम्बासी विहिन नगरका रुपमा पोखराको परिकल्पना पनि कोइरालाले गरेका छन् । युवालाई निशुल्क सिपमूलक तालिम दिएर रोजगारीको ब्यवस्था मिलाउने र सुरक्षित सहरका रुपमा पोखरालाई स्थापित गर्ने उनको योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *