२०८१ वैशाख ७ गते | 19th of April 2024

पोखरा लेखनाथका उम्मेदवारको प्रतिबद्धता-समृद्ध सहर बनाउछौं

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २६ गते ९:४७

पोखरा, २६ वैशाख  ।
पोखरा लेखनाथ महानगरपालिकाको समृद्धि नै आफूहरुको प्राथमिकतामा रहेको पोखरा लेखनाथ महानगरपालिकाका मेयरका उम्मेदवारहरुले बताएका छन् ।
पोखरा जेसीज, पोखरा लेडी जेसीज र लेखनाथ जेसीजको संयुक्त आयोजना तथा स्वच्छ निर्वाचनका लागि नागरिक अभियानको सहकार्यमा मंगलबार पोखरामा भएको ‘उम्मेदवारीको औचित्य र आवश्यक्ता’ विषयक बहस कार्यक्रममा बोल्दै उनीहरुले यस्तो बताएका हुन् ।
उनीहरुले पोखरालाई स्मार्ट सिटी बनाउने, बेरोजगारविहिन् सहर बनाउने, सडक, बसपार्क र पोखरा अन्र्तराष्ट्रिय विमानस्थल आफूहरुको योजनामा रहेको जनाए ।
कार्यक्रममा बोल्दै नेकपा एमालेका तर्फबाट मेयरका उम्मेदवार बनेका मानबहादुर जिसीले पोखरा लेखनाथ महानगरलाई समृद्ध बनाउने आफ्नो लक्ष्य रहेको बताए ।
जिसीले प्रविधि र सेवाग्राहीमैत्री महानगर, उद्यमीहरुको सहर, वातावरणमैत्री महानगर, स्वच्छ पिउने पानी र दीगो विकासको मोडल आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
पाँच बुँदे प्रतिबद्धताको ब्रिफिङ गर्दै उनले पहिलो चरणमा महानगरपालिकालाई प्रविधिमैत्री बनाउन सार्वजनिक सवारी साधनमा अनिवार्य ग्लोवल पोजिसनिङ सिस्टम (जिपीएस० जडान गर्ने, हस्पिटल, बसपार्क र पार्कहरुमा निःशुल्क वाईफाईको ब्यबस्था गर्ने बताए ।
जिसीले पोखरा लेखनाथ महानगरलाई उद्यमीहरुको सहर बनाउने र त्यसमा युवा उद्यमीको सहर बनाउने घोषणा गरे । त्यसका लागि पर्यटन उद्योग, फोहोर ब्यबस्थापनका लागि रिसाईक्लिङ उद्योग र मनोरञ्जन उद्योग स्थापना गर्ने बताए ।
पोखरालाई वातावरणमैत्री बनाउन ग्रीन सिटी र क्लिन सिटीको अवधारणामा अघि बढ्ने बताउँदै उनले त्यसका लागि ३३ वटै वडामा गार्डेन र खुल्ला चौर बनाउने उल्लेख गरे ।
उनले स्वच्छ पिउने पानी सबै महानगरबासीलाई पाउने ब्यबस्था मिलाउने बताए । अब बोतलको पानी पिउनुपर्ने बाध्यता हटाएर धाराबाटै स्वच्छ पिउने पानी आउने वातावरण मिलाउने प्रतिबद्धता जनाए ।
नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरकी उम्मेदवार बनेकी गोमा ढकालले पोखरालाई समृद्ध नमूना महानगर बनाउने प्रतिबद्धता जनाइन ।
हरेक कोणबाट सुविधा सम्पन्न महानगर बनाउने बताउँदै उनले हरेक वडाका सडकहरु कालोपत्रे गर्ने, किर्षी आवास, ब्यापार र उद्योगको लागि छुट्टाछुट्टै स्थान तोकेर बिकास गर्ने, २ वर्ष भित्रमा किर्षीमा आत्मनिर्भर बनाउने र तरकारीको पकेट क्षेत्र बनाएर उपत्यकाबाट तरकारी ल्याउनुपर्ने बाध्यता हटाउने उद्घोष गरिन् ।
उनले युवालाई रोजगारी दिएर पोखरा लेखनाथ महानगरबाट बिदेश जाने युवाहरुलाई यहीं बस्ने वातावरण निर्माण गर्ने बताईन् । त्यसका लागि प्राविधिक शिक्षामा जोड दिने उल्लेख गरिन् ।
गुणस्तरीय प्राविधिक शिक्षामार्फत स्वरोजगार सिर्जना गर्दै गुणस्तरीय शिक्षा र म्यानपावर खोज्न पोखरा आउने वातावरण बनाउने बताईन् । उनले पोखरा लेखनाथ महानगरमा पर्ने फेवातालसहित ८ वटै तालको संरक्षणसहित त्यस वरपर पूर्वाधार निर्माण गरेर पर्यटकीय केन्द्र बनाउने बताईन् ।
पोखरा युनाईटेड क्लवको पहलमा लेखनाथको पचभैयामा निर्माण हुन लागेको पोखरा अन्र्तराष्ट्रिय चिडियाखाना बनाउन छुट्टै बजेटको ब्यबस्था गर्ने पनि उनले प्रतिबद्धता जनाइन् । मेयरको उपस्थिति नभएपछि उपमेयरी उम्मेदवार ढकालले प्रतिबद्धतासहितको भनाइ राखेकी थिइन ।
संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिका तर्फबाट मेयरका उम्मेदवार हुमबहादुर गुरुङले भौतिक विकास भन्दापनि मानव संसाधनको विकासमा ध्यान दिने बताए ।
मान्छेको सोंच र ईच्छाशक्तिमा विकास नगरी अन्य जतिसुकै विकास गरेपनि समाज परिवर्तन नहुँने भन्दै उनले सदियौं वर्षदेखी पछाडि पारिएका आदिवासी जनजातिहरुलाई पनि प्रतिष्पर्धामा आउनसक्ने किसिमको मानवसंसाधनको विकास गर्ने आफ्नो लक्ष्य रहेको बताए ।
साथै पोखरा लेखनाथ महानगरलाई संस्कृतिको सहर बनाउने र पोखरा लेखनाथ महानगरमा कल्चर युनिभर्सिटी बनाएर पर्यटन प्रवर्द्धन गर्ने आफ्नो योजना रहेको सुनाए ।
विकासमा पछि पारिएका क्षेत्रलाई प्राथमिकताका आधारमा बिकास गर्ने उनको भनाइ छ । त्यस्तै, फेवातालसहित महानगरमा पर्ने सबै ताल पहिलेकै अवस्थामा फर्काउने र ताल अतिक्रमण गर्नेलाई कानूनी कार्वाही गर्ने बताए ।
अखण्ड नेपाल पार्टीबाट मेयरका उम्मेदवार मोति गिरीले भ्रष्टचारीलाई निर्मुल पार्ने उद्घोष गरे । घुस लिने र दिने दुबैलाई कार्वाहीगर्ने उनको भनाइ छ ।
एक वर्ष भित्रमा १० वटा सडक निर्माण गर्ने, एक वर्ष भित्रैमा १० वटा आमा समूहको भवन बनाएर उनीहरुलाई सबल र सक्षम बनाउन तालिम आयोजना गर्ने, १० ठाउँमा खेल मैदान निर्माण गर्ने घोषणा गरे ।
आफू मेयर बनेको खण्डमा हरेक छोराछोरीको कमाईको १० प्रतिशत उसका बुबा आमाको नाममा सिधै काटिने ब्यबस्था ऐनमै समावेश गर्ने उनले बताए ।
नेकपा मालेको तर्फबाट मेयरका उम्मेदवार बनेका टेकनाथ भण्डारीले पोखरा लेखनाथ महानगरको सामथ्र्य र सम्भाव्यता अध्ययन गरेर विज्ञको सुझाव अनुसार विकास गर्ने बताए ।
उनले न्यून आय भएकाहरुको पहिचान गरी उनीहरुको उत्थानका लागि काम गर्ने, महानगरमा जनगुनासो सुन्ने ब्यबस्था गर्ने र त्यसको समाधान तत्काल गर्ने वातावरण निर्माण गर्ने बताए ।
पर्यटन उद्योग स्थापना, बसपार्क निर्माण, पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय बिमानस्थलको निर्माण, खानेपानीको अल्पकालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने बताए ।
राष्ट्रिय जनमोर्चाका तर्फबाट मेयरका उम्मेदवार चन्द्रबहादुर खत्री क्षेत्रीले संघीयता खारेज गर्न भूमिका खेल्ने बताए । उनले भ्रष्टाचारको अन्त्य गर्दै नमूना पर्यटकीय सहर बनाउने आफ्नो योजना रहेको बताए ।
नेपाल परिवार दलको तर्फबाट मेयरकी उम्मेदवार कल्पना बरालले महिला र वालवालिकालाई प्राथमिकता दिएर काम गर्ने बताईन् । उनले बेरोजगार युवालाई रोजगार सिर्जना गर्ने बताईन् ।
फोरम लोकतान्त्रिकको तर्फबाट मेयरका उम्मेदवार अमनकुमार थापाले पोखरालाई चौविसै घण्टा खुल्ने सहर बनाउने बताए । उनले अन्य उम्मेदवारहरु आफ्नो बुबारहजुरबाका उमेरको भएकाले अब उनीहरु सुझाव दिने ठाउँमा बसेर आफूजस्ता युवालाई काम गर्न दिन आग्रह गरे ।
राष्ट्रिय मुक्ति आन्दोलन पार्टीका मेयरका उम्मेदवार ऋषीप्रसाद तिमिल्सिनाले स्मार्ट सिटी आफ्नो प्राथमिकतामा राखेर काम गर्ने बताए । उनले माओवादीबाट आफू छुट्टएिर नयाँपार्टीमा भएपनि प्रचण्डले सबैलाई समेट्ने वातावरण निर्माण गरेर पुनः माओवादीमा र्फकन तयार रहेको समेत सो अवसरमा घोषणा गरे ।
मेयरका स्वतन्त्र उम्मेदवार रेशमराज पन्थीले पोखरा लेखनाथ महानगरलाई स्मार्ट सिटी हैन स्मार्ट मान्छे बस्ने शहर बनाउने बताए ।
पोखरा लेखनाथ महानगरलाई स्विजरल्याण्ड हैन बरु यहाँ भएका सम्पदा संरक्षण गर्ने आफ्नो उद्देश्य रहेको प्रष्ट पारे । उनले मध्यराती १२ बजेपनि चेली हिंड्नसक्ने वातावरण निर्माण गर्ने, महानगरमा समान शिक्षा र समान स्वास्थ्य सेवा पाउने वातावरण निर्माण गर्ने बताए ।
अर्का मेयरका स्वतन्त्र उम्मेदवार महेन्द्रकुमार थापाले पोखरालाई सुनौलो महानगर बनाउने उद्घोष गरे । एक घर एक रोजगार, रिङरोड, बसपार्क र पोखरा अन्र्तराष्ट्रिय बिमानस्थल निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउँदै उनले जेष्ठ नागरिकलाई घररघरमा बृद्धभत्ता पुर्‍याउने ब्यबस्था मिलाउने बताए । उनले महिला सशक्तिकरण अन्य पार्टीले नारामा मात्र सिमित राखेको बताउँदै अब आफूले साँच्चैको महिला सशक्तिकरण गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा मेयरका प्रत्यासी १६ जनालाई नै निमन्त्रणा गरेपनि १० जना मेयरका प्रत्यासी र मेयर उम्मेदवार नउठाएको माओवादीको तर्फबाट उपमेयरकी उम्मेदवार सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *