२०८१ वैशाख ६ गते | 18th of April 2024

माओबादीको भोट रुखमै हो-मोओबादी केन्द्र (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २७ गते २:२०

पोखरा, २७ बैशाख ।
चुनावी तालमेलका लागि केन्द्रमा भएको सहमति अनुसार माओबादी केन्द्र कास्की कांग्रेसको चुनाव चिन्ह ‘रुख’ मा भोट हाल्न तयार भएको छ । पोखरा लेखनाथ महानगरको मेयरमा कांग्रेसका उम्मेदवार रामजी कुँवरलाई जिताउन माओबादी केन्द्रका सबै मतदाताले ‘रुख’ मा भोट हाल्ने सो पार्टीका कास्की जिल्ला संयोजक दिपक कोइरालाले बताए ।
नेपाली कांग्रेस कास्की र माओबादी केन्द्र कास्कीले मंगलवार संयुक्त पत्रकार सम्मेलन गरी कुँवरलाई साझा उम्मेदवारको रुपमा चिनाएको हो । केन्द्रिय सहमति अनुसार माओबादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका विश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएपनि उपमेयरमा आ आफ्नै दलको उम्मेदवार भएपछि छुट्टा छुट्टै प्रचारप्रसारमा जुटेका थिए । केन्द्रमा सहमति भएर उम्मेदवारी फिर्ता लिएको पाँच दिन पछि र प्रचारको समय सकिन दुई दिन मात्र बाँकी रहदा माओबादी केन्द्र कास्कीले कुँवरको प्रचारमा पनि सघाउने उद्घोष गरेको छ ।
कांग्रेसको उम्मेदवार माओबादी केन्द्रको पनि उम्मेदवार भएकाले साझा उम्मेदवारको रुपमा प्रचारप्रसार गर्ने र माओबादी केन्द्रले कांग्रेस पार्टीको तर्फबाट उम्मेदवार बनेका कुँवरलाई मतदान गर्ने संयोजक कोइरालाको प्रतिबद्धता छ । साझ उम्मेदवार भएपछि कुँवरको हार जितमा दुबै पार्टी जिम्मेवार हुने उनले बताए ।
नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले माओबादी केन्द्र तर्फबाट उम्मेदवार बनेका लामिछानेले दुई पार्टीको समझदारी अनुसार उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिदै उनी दुबै पार्टीको साझा नेता बनेको बताए । भिन्न विचार बोकेका पार्टी भएपनि एक अर्कोलाई मतदान गर्ने जटिल समझदारी गर्नु उदाहरणिय भएको उनले बताए ।
दुई पार्टीका जिल्ला प्रमुखले हस्ताक्षर गरी संयुक्त विज्ञप्ती समेत जारी गरेका छन् । बिज्ञप्ती मार्फत कांग्रेसबाट उम्मेदवारी दिएका रामजी कुँवरलाई दुबै पार्टीले संयुक्त उम्मेदवारको रुपमा ग्रहण गरी निर्वाचन गराउन सहमत भएकाले सोहि अनुसार मतदान गर्न मतदातालाई अपिल समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *