२०८१ वैशाख १४ गते | 26th of April 2024

पोखरामा कसले जित्ला मेयर ?

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २७ गते ५:४४

प्रकाश ढकाल
पोखरा, २७ बैशाख ।
स्थानीय चुनाव नजिकिँदै गर्दा कुन तहमा कुन पार्टीको नेतृत्व आउला भन्ने बहस सुरु भएको छ । कास्कीका पाँचवटै स्थानीय तहमा पार्टीगत र स्वतन्त्र उम्मेदवारी समेत छ । गाउँपालिका भन्दा पोखरा लेखनाथ महानगरपालिकामा चुनावी चर्चा बढी छ । तर्सथ हामीले अघिल्ला चुनावको नतिजा अध्ययन गरेर स्थानीय चुनावको सम्भावनालाई केलाउने प्रयास गरेका छौं । पोखरा लेखनाथ महानगरपालिका कास्की जिल्लाका चारवटै निर्वाचन क्षेत्रका केही भाग मिसिएर बनेको छ । दुई र तीन नम्बर क्षेत्र सबै महानगरमा मिसिएको छ भने १ र ४ का केही गाविस तथा साविक नगरपालिकाका वडाहरु मिसिएका छन् । १ नम्बर क्षेत्र अन्तर्गत कालिका र माझठाना तथा लेखनाथ नगरपालिकाको १ देखि १५ नम्बरसम्मको वडा र क्षेत्र नम्बर ४ अन्तर्गत कास्कीकोट, चापाकोट, भदौरेतामागी र पुरुञ्चौर गाविस तथा साविक पोखरा उपमहानगरपालिकाका २, २५, २६, २७ र २९ नम्बर वडा पनि महानगरमा समायोजन भएको छ । यसअघिका संसदिय चुनावमा एमाले र काँग्रेसले दुई÷दुई क्षेत्र जितेका थिए ।
महानगरमा पूर्ण समायोजन भएको क्षेत्र नम्बर दुई काँग्रेसले जितेको थियो भने तीन नम्बरमा एमालेले जितेको थियो । २०६४ को चुनावमा दुईबाट माओबादीका राजकाजी गुरुङ र तीनमा एमालेकै रवीन्द्र अधिकारीले जितेका हुन् । पोखराको स्थानीय चुनावमा दुई र तीन नम्बर क्षेत्रको प्रभाव बढी हुन्छ । ६४ मा दुवै क्षेत्रबाट काँग्रेसले प्रत्यक्षतर्फ १९ हजार ८ सय ७३ मत प्राप्त गर्दा एमालेले २४ हजार २३ मत पाएको थियो । यस्तै माओबादीको २१ हजार ७ सय ५८ मत थियो । २०७० मा आईपुग्दा काँग्रेसले २२ हजार ४ सय ७० मत पायो भने एमालेले २४ हजार ४ सय २८ र माओबादीले १० हजार ३६ मत प्राप्त गर्न सक्यो । यो चुनावमा अलि बढी समानुपातिक तर्फको मतले दलगत रुपमा जितका लागि निर्देशित गर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् । सामानुपातिकतर्फ २०६४ मा काँग्रेसले २० हजार ४२ मत पाएको थियो । एमालेले २३ हजार ५ सय ९० मत र माओबादीको २७ हजार २७ मत थियो । २०७० मा काँग्रेसले दुवै क्षेत्रबाट समानुपनतिक तर्फ १९ हजार ५ सय ३६ मत ल्याउँदा एमालेले २१ हजार दुई सय ७३ र माओबादीले ९ हजार ८ सय १४ मत मात्रै पायो ।
यसले पोखरा लेखनाथ महानगरपालिकामा काँग्रेस र एमालेबीच नै कडा प्रतिश्पर्धा हुने देखिन्छ । समानुपातिक तर्फ २०६४ मा काँग्रेसलाई ३ हजार ५ सय ४८ मतले पछि पारेको एमाले २०७०मा १ हजार ७ सय ३७ मतले मात्रै अगाडी थियो । यसबाहेक १ र ४ नम्बर क्षेत्रका इकाईहरु पनि उसैगरि विभाजित छन् । दलगत हिसावले भदौरेतामागी, चापाकोट, मौजा र माझठानाका महानगरमा मिसिएका वडाहरुमा काँग्रेस केही अगाडी देखिन्छ । कालिका, पुरुञ्चौर र कास्कीकोटमा एमालेको पल्ला बढी छ । १ नम्बर क्षेत्रको साविक लेखनाथ नगरपालिकामा काँग्रेस र एमालेको समान जस्तै उपस्थिती छ । हाल कायम भएका २७ र २८ नम्बर वडामा काँग्रेस अगाडी देखिन्छ भने २९, ३१ र ३३ नम्बर वडामा एमाले अगाडी छ । २६, ३० र ३२ नम्बर वडा दुवै पार्टीको उस्तै छ । ४ नम्बर क्षेत्र अन्तर्गत साविक पोखरा उपमहानगरपालिकाका २, २५, २७ र २९ मा काँग्रेस केही अगाडी देखिन्छ । साविक २५ नम्बर वडा भने स्थानीय निकायको दुवै चुनावमा एमालेले जितेको ठाउँ हो ।
२०४९ मा भएको स्थानीय निकायको चुनावमा हाल महानगर बनेका साविकका स्थानीय निकायहरुमा एमालेभन्दा काँग्रेसको हावी देखिन्छ । २०५४ सालमा भने एमाले काँग्रेसभन्दा अगाडी थियो । २०४९ मा पोखरा नगरपालिका सहित भदौरेतामागी, चापाकोट, पुम्दीभुम्दी, हेमजा, मौजा, माझठाना, भरतपोखरी, लामाचौर, लेखनाथ क्षेत्रका शिशुवा, राखी र अघौं काँग्रेसले जितेको थियो । एमालेले सराङकोट, कास्कीकोट, भलाम, काहुँ, आर्वा, कालिका, कृष्ति, निर्मलपोखरी, पुरुञ्चौर, बेगनास र अर्मलामा जित हात पारेको थियो । २०५३ मा लेखनाथ नगरपालिका गठन भएसँगै ५४ को चुनावमा लेखनाथ सहित, पुम्दी, सराङकोट, कास्कीकोट, हेमजा, पुरुञ्चौर, मौजा, भलाम, काहुँ, आर्वा, कालिका, माझठाना, भरतपोखरी, कृष्ती, निर्मलपोखरी, लामाचौर, अर्मला र पोखरा उपमहानगरपालिका समेत एमालेले जितेको ठाउँ हो । त्यसताका चापाकोट मात्रै काँग्रेसले जितेको थियो ।
स्थानीय चुनाव नभएको झण्डै २० बर्ष पुग्न लागेको छ । यो अवस्थामा कुन पार्टीले जित्छ भनेर अनुमान लाउन सक्ने स्थिती पनि कम छ । समग्रमा हेर्दा काँग्रेस र एमालेबीच कडा प्रतिश्पर्धामै महानगरको नेतृत्व चयन हुनेछ । नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसले महानगर प्रमुखका लागि संयुक्त उम्मेदवार तय गरेका छन् । केन्द्रिय सहमति अनुसार माओबादी केन्द्रका उम्मेदवार बिश्वप्रकाश लामिछानेले उम्मेदवारी फिर्ता लिएर काँग्रेसको तर्फबाट उम्मेदवारी दिएका रामजी कुवँरलाई दुवैले आफ्नो उम्मेदवार स्विकारेका छन् । गरिएको सहमति हुबहु कार्यान्वयन भए एमाले भन्दा गठबन्धन अगाडी देखिन्छ । तर हुवहु कार्यान्वयन हुने बिषयमा धेरैको आशंका छ । एमालेबाट प्रमुखमा दावेदारी प्रश्तुत गरेका मान बहादुर जिसी पनि काँग्रेसका लागि बलियो प्रतिश्पर्धी हुन् । उनलाई साविक लेखनाथ क्षेत्रको समर्थन बढी रहेको बुझिएको छ । यद्यपी पोखरा क्षेत्रमा पनि उनी कमजोर उम्मेदवार होईनन् । बिगतका चुनावमा भेगिए प्रभाव खासै नदेखिएपनि यसपाली यसको असर पनि पर्न सक्छ । स्थानीय चुनावमा उम्मेदवारको ब्यक्तित्वमा पनि फरक नतिजा निस्किन सक्छ । महानगरको प्रमुख पदका लागि १६ जनाको उम्मेदवारी छ भने उपप्रमुखमा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । महानगरमा बैशाख ३१ को चुनावले १ सय ६७ जना निर्वाचित गर्नेछ भने यसका लागि ८ सय ४२ जनाले उम्मेदवारी दिएका छन् । यहाँ १ लाख ६८ हजार ६७ जना मतदाता छन् भने ९८ मतदान स्थल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *