२०८१ वैशाख ७ गते | 19th of April 2024

उपप्रमुखका उम्मेदवार कोईरालाको प्रचार तिब्र

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते ४:४४

पोखरा, २८ बैशाख ।
पोखरा लेखनाथ महानगरपालिकामा उपप्रमुखको उम्मेदवारी दिएका सिरोज कोइरालाको प्रचार तिब्र पारिएको छ । फरक शैलिबाट प्रचार गरिरहेका कोइरालाले सामाजिक सञ्जाल प्रयोगमा जोड दिएका छन् । पोखराको अस्थित्व जोगाईराख्नका लागि आफुँले उम्मेदवारी दिएको कोइरालाको दावी छ । पोखरालाई अन्तराष्ट्रिय शहर बनाउने नारा सहित विभिन्न पार्टीले घोषणापत्र सार्वजनिक गरेपनि कार्यान्वयन नहुने भन्दै उनले आफ्नो बिजयले मात्रै पोखरा अन्तराष्ट्रिय स्तरको बन्ने उल्लेख गरे ।
‘पोखरालाई पोखराकै रुपमा टिकाईराख्न पनि अहिलेका उम्मेदवारसँग भिजन छैन । थप ब्यवस्थित र विकास गर्ने योजना भ्रममात्रै हो, उनी भन्छन्–मैले जितें भने सबैले सहज रुपमा सेवा पाउन सक्छन् । प्रविधि सहितको समृद्ध महानगर बन्नेछ ।’ नेपालीको मानसिकता पार्टीगत राजनीति भन्दा बाहिर निस्किन नसकेको भन्दै उनले स्थानीय चुनावमा ब्यक्तित्वले प्रभाव पार्ने बताए । कोइराला युवा पुस्ता माझ निकै चर्चित र लामो समयको अनुभवी पनि हुन् । ‘मेरो उम्मेदवारी एकल निर्णय होईन । ठूलो समूहले उम्मेदवारको रुपमा प्रश्तुत गरेको हो, उनले भने–यो उम्मेदवारीको परिणाम १ बर्षभित्रै देखिने छ । नतिजामुखी काम गरेर पोखरामा परिबर्तन देखाउने छु ।’
उनले पोखरालाई स्वच्छ, सुन्दर, सुव्यवस्थित, सुरक्षित र समृद्ध बनाउन तत्काल पहल थाल्ने बताए । आफ्ना योजना उचित लागे मत दिन र कार्यान्वयनमा सघाउन कोइरालाले आग्रह गरेका छन् । ‘म स्वतन्त्र उम्मेदवार हुँ । मलाई पार्टीको झण्डामुनी बसेर निर्णय गर्नुपर्ने बाध्यता हुनेछैन, मतदातालाई सामाजिक सञ्जालमार्फत आग्रह गर्दै उनले भने–मेरो जीत नै समग्र पोखरेलीहरुको जीत हो । म दलप्रति होइन समग्र पोखरेलीहरुप्रति जिम्मेवार र जवाफदेही रहने छु ।’ उनले आफ्नो पाँचबर्षे कार्यकाल पोखराका लागि ऐतिहासिक र सम्झनायोग्य रहने बिश्वास लिएका छन् ।
पोखराको विकासका प्रचुर सम्भावना भएपनि सही सदुपयोग हुन नसकेकोमा उनको दुखेसो छ । स्वतन्त्र रुपमा उमेदवारी घोषणा गरेपछि सामाजिक सञ्जालमा चर्चाको पात्र बनेका कोइरालाले महानगरलाई सेवामुखी र प्रविधीमैत्री बनाउन आँफुसँग दृढ संकल्पसहितको योजनाहरु रहेको दावी गरे । तत्कालिन लेखनाथ नगरपालिकाको बेगनासतालमा जन्मिएका कोइराला पोखराका स्थायी बासिन्दा हुन् । उनले पोखरा र लेखनाथ विकासका परिकल्पनाहरु सामाजिक सञ्जाल र संचार माध्यमहरुबाट प्रश्तुत गरिरहेका छन् । उनले हेरालो साप्ताहिक पत्रिका प्रकाशन गरी सामाजिक तथा राजनीतिक परिवर्तन, सामाजिक सुरक्षा, समृद्धि एवम् न्यायका पक्षमा काम गरेका थिए । नगरबासीलाई शुद्ध पिउने पानी ब्यवस्था गर्ने, यातायात सञ्जाल ब्यवस्थित गर्ने, छरपष्ट बिजुली, टेलिफोन र केबुलका तार भूमिगत गरी व्यवस्थित गर्ने, सुशासन सहित नागरिक सेवा प्रवाह लगाएतका योजना कोइरालाका छन् ।
यस्तै पर्यटनमा योगा र ध्यानको आयाम थप्ने, सम्पदा संरक्षण र सांस्कृतिक पक्षको जर्गेना, नगरभित्रका सरकारी विद्यालयलाई सवल र सशक्त बनाउने, विदेशी कामदारलाई श्रमस्वीकृति अनिवार्य गर्ने, नगरक्षेत्रमा फुटबल र क्रिकेटको अन्तराष्ट्रिय हव बनाउने, प्रत्येक वडामा आधुनिक पुस्तकालय स्थापना, सुकुम्बासी विहिन नगरका रुपमा पोखराको परिकल्पना पनि कोइरालाले गरेका छन् । युवालाई निशुल्क सिपमूलक तालिम दिएर रोजगारीको ब्यवस्था मिलाउने र सुरक्षित सहरका रुपमा पोखरालाई स्थापित गर्ने उनको योजना छ । पोखरा लेखनाथ महानगरपालिकाको उपप्रमुखका लागि ११ जनाले उम्मेदवारी दिएका छन् । कोइराला सँगै स्वतन्त्र रुपमा चन्द्रबहादुर कार्की, कल्पना थापाको पनि उम्मेदवारी छ । नेपाली काँग्रेसबाट सरस्वति गुरुङ, एमालेबाट मञ्जुदेवी गुरुङ, माओबादी केन्द्रबाट गोमा ढकाल, राप्रपाबाट रमेशबहादुर खत्री, नयाँ शक्तीकी लक्ष्मी खाती, अखण्ड नेपालकी गोमा कुमारी रायमाझी, राष्ट्रिय जनमोर्चाकी दालकुमारी खत्री र नेकपा संयुक्तकी गंगादेवी आचार्यको पनि उपप्रमुखका लागि उम्मेदवारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *