२०८१ वैशाख ११ गते | 23rd of April 2024

ख्याल गर्नुस्- मौन अवधी उममेदवारी रद्ध होला

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते ५:०१

पोखरा, २८ बैशाख ।
स्थानीय तहको पहिलो चरणको निर्वाचन प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । मतदान हुनुभन्दा ४८ घण्टाअघिदेखिको अवधिलाई निर्वाचन आयोगले मौन अवधि भनेको छ । यो अवधि विहीबार राति १२ बजेदेखि प्रारम्भ हुनेछ ।
मौन अवधिमा कुनै पनि दल र उम्मेदवारले चुनावी प्रचार(प्रसार, सभा र जुलसहरु निकाल्न पाउँदैनन् । मौन अवधिको यो आचारसंहिता तोडिएमा आयोगले सम्बन्धित उम्मेदवारलाई कारवाही गर्नेछ ।
प्रायः हरेक निर्वाचनमा भोट माग्न नपाउने मौन अवधिलाई नोट बाँड्ने समयका रुपमा प्रयोग हुने गरेका आरोप लाग्ने गरेका छन् । मौन अवधिमा बाहिरी प्रचार प्रसार गर्न नपाइने भएकाले सबै उम्मेदवारहरु भित्री चलखेलतिर लाग्छन् ।
विगतको अनुभवलाई हेर्दा मौन अवधिकै समयमा धेरै झडपहरु हुने गरेका छन् । दलका कार्यकर्ता र उम्मेदवारहरु सानो सानो समूहमा मतदाताहरुसम्म पुग्दा अर्को पक्षले रोक्न खोज्ने क्रममा झडप गरेको पाइएको छ ।
मौन अवधिमा के-के गर्न पाइँदैन ?
मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न पाइँदैन । मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार र प्रसारका सामग्री हटाउनुपर्छ ।
उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिन्ह अंकित पहिरन, टोपी, स्टीकर, लोगो, झोला, ट्याटु जस्ता सांकेतिक सामग्रीको प्रयोग गन पाइँदैन ।
चुनाव चिन्ह अंकित सामाग्रीहरु बिक्री गर्न वा प्रदर्शन गर्न समेत पाइँदैन ।
उम्मेदवार वा राजनीतिक दलको प्रचार(प्रसार वा गालीगलौच हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पाइँदैन ।
मौन अवधिको नियम तोडे के कारवाही ?
मौन अवधिको आचारसंहिता तोडेको प्रमाणित भएमा सम्बन्धित उम्मेदवारको उम्मेदवारी रद्द गर्नेदेखि १ लाख रुपैयाँसम्म जारिवाना गर्न सक्ने व्यवस्था निर्वाचन आयोग सम्बन्धी कानुन २०७३ मा उल्लेख छ ।
निर्वाचन आयोगको टोलीले जाँचबुझ वा अनुगमन गर्दा कसैबाट आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको देखिएमा तुरुन्त रोक्न आदेश दिनेछ । तर, आयोगको आदेश पालना नगर्नेलाई १ लाख रुपैयाँसम्म जारिवाना र उम्मेदवारी नै रद्द समेत हुन सक्नेछ ।
निर्वाचन आयोग सम्बन्धी कानुनमा भनिएको छ – कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द गर्न सक्नेछ । यसरी उम्मेदवारी रद्द गर्नु अघि सम्बन्धित उम्मेदवारलाई सफाइको उचित मौका दिनु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *