२०८१ वैशाख ११ गते | 23rd of April 2024

हामीले ‘नाकावन्दी भएको हो’ भन्न चुकेकै हो – तरुण अध्यक्ष जितजंग बस्नेत

खुल्लामन्च
 प्रकाशित: २०७४ चैत ८ गते १६:५७

सुरज भन्डारी /विश्व सन्देश

नेपाली कांग्रेस अहिले प्रतिपक्षमा पुगेको छ । आफू सत्तामा रहँदा गराएको निर्वाचनमा कांग्रेस प्रतिपक्षको कित्तामा पुगेपछि अझ बढी नेतृत्वमाथि पार्टीभित्रबाटै कटाक्ष सुरु भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गरेको अवस्थामा सरकारले प्रभावकारी काम गर्न नसकेको तथा कांग्रेसमा विचार शून्यता देखिएको भन्दै कांग्रेसका केही युवा नेताले सार्वजनिक रुपमै असन्तुष्टि पोख्दै आएका छन् । कांग्रेसभित्र आन्तरिक कलह बढ्दै गएको देखिएको छ भने अर्कोतर्फ एमाले अध्यक्ष केपी शर्मा ओली एमाले–माओवादीको गठजोडमा अन्य दलहरुको समेत समर्थनमा केन्द्रीय संसद्मा समेत दुई तिहाइको समर्थन जुटाएर प्रधानमन्त्री बनेका छन् । प्रदेशहरुमा समेत २ नम्बर प्रदेशबाहेक अन्य ६ वटै प्रदेशमा एमाले–माओवादीको सरकारले प्रादेशिक प्रशासन चलाएको छ । यो अवस्थामा कतिपय सन्दर्भमा एमाले नेतृत्वको माओवादी सहभागी सरकारले संविधान विपरीत काम गरेको भन्दै प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले विरोध जनाउने गरेको छ । तर, त्यो विरोधको स्वर दरिलो बन्न भने सकिरहेको देखिँदैन, यही क्रममा राष्ट्रपतिले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको ३ सांसदको मनोनयनलाई स्वीकृति नदिई केपी ओली नेतृत्वको सरकारले गरेको सिफारिशलाई स्वीकृति दिएर असंवैधानिक काम गरेको भन्दै कांग्रेसको केही समयदेखि सुस्त देखिएको तरुण दल पछिल्लो पटक सडकमा आएको थियो । त्यो विरोधका लागि विरोध थियो या साँच्चिकै असंवैधानिक भएकाले गरेको निर्णय फिर्ता गराउनका लागि दबाब थियो । तरुण दलका अध्यक्ष जीतजंग बस्नेतसँग हामीले जान्न चाह्यौं । हाल अमेरिकामा रहेका उनीसँग पार्टीभित्रकै एउटा युवा तप्का नेतृत्वको कटु आलोचनामा जुटिरहँदा तपाईंको मौनता चाहिं किन ? भनेर प्रश्न राख्यौं, के कांग्रेस समस्यामा जगडिएको हो या गुटमै रमाउन खोजेको हो ? यसमा तरुणहरु चाहिं कहाँ रहन्छन् बुझ्न चाह्यौं । बस्नेतसँग सुरज भण्डारीले गरेको कुराकानी–

पार्टी प्रतिपक्षमा पुग्यो, तरुणको नजरमा दोषीचाहिं को ?

हो, धेरैपछि कांग्रेस प्रतिपक्षमा पुगेको छ । अर्थात् सत्ताभन्दा बाहिर बस भनेर जनताले कांग्रेसलाई मत दिएका छन् । वैधानिक रुपमै जनताले यसपटक सत्तामा वामपन्थीलाई पु¥याएका छन् । हामी प्रतिपक्षमा पुगिरहँदा यसको पछाडिको कारण के हुन सक्दछ भनेर बुझ्दै जाने हो भने यसका फ्याक्टरहरु धेरै छन् । म अरुलाई दोष लगाएर आफू उम्किने प्रवृत्तिको नभएकाले म जुन ठाउँमा छु, मेरो जे जिम्मेवारी थियो त्यसमा म चुकेकै हो भन्न चाहन्छु । पार्टीको हिसाबले कुरा कांग्रेसको केन्द्रदेखि वडा तहसम्म जो जहाँ हुनुहुन्थ्यो हामी सबै यसका पछाडिका कारण हुन सक्छौं । अर्को कुरा भनेको एमाले–माओवादी मिलेर चुनावमा जाँदा जनतामा यिनीहरुले बहुमत ल्याउँछन् स्थायी सरकार बन्छ भन्ने छाप पर्न गयो, जसले गर्दा न्युट्रलहरुले पनि गठबन्धनलाई मत दिए, उनीहरुका उम्मेदवारलाई मत दिए । वाम गठबन्धनको कुरा गर्दा यो मत म चाहिं केपी ओलीलाई दिएको ठान्दछु । उनी एकाएक राष्ट्रियतावादी नेता बने, उनलाई त्यो हिसाबले बनाउने काम भयो, नाकाबन्दीको समयमा उनलाई यसरी उचालियो कि उनी नै राष्ट्रवादी हुन् र त्यसको प्रभाव मतदातामा पर्न गयो । ठूलाठूला सपना देखाए, जनताले गर्छ कि भनेर आशा राखेर मत दिए, जसले जसरी मत दिए अब यति बुझ्नुपर्छ कि जनताले वैधानिक रुपबाट केपी ओलीलाई सरकारमा जाऊ भनेर मत दिए, त्यसैले हामी रचनात्मक प्रतिपक्षमा बस्छौं भन्ने हो, त्यसमा नै हामी लाग्नुपर्दछ, दोष अरुमा देखाएर हामीहरुले म म भनेर आफैंमा खोज्नुपर्दछ ।

नाकाबन्दीको कुरा गर्नुभयो, पार्टीले यसलाई नाकाबन्दी त कहिल्यै मानेन नि त होइन ?

म यो कुरामा पहिला नै प्रष्ट थिएँ । हाम्रो संविधानमा असन्तुष्टि भारतले राखेकै हो । मधेशकेन्द्रित भनिएका दलहरुलाई सरकारमा लैजान भारतको चासो रहेकै हो । यो नहुँदा भारतले हाम्रो संविधानलाई स्वागतसम्म पनि गरेन, तर हामीले मधेशी दलहरुले गरेको अवरोध मात्र भन्यौं । यो अवस्थामा हामीले नाकाबन्दी भन्न चुकेकै हो । यो त मैले पहिलादेखि नै भन्दै आएको हो । यसो नभन्दा चर्को स्वरले चिच्याएर देशको राष्ट्रियताप्रति एमाले र ओली नै बढी चिन्तित छन् जस्तो गरी म्यासेज गयो, जनतामा त्यो सेन्टिमेन्टले पनि काम ग¥यो । अर्को पक्ष हामीले हाम्रो नेतृत्वमा बनाएको संविधानको कार्यान्वयनलाई पहिलो प्राथमिकतामा राख्दै विभिन्न तहका चुनावमार्फत संविधानलाई संस्थागत दिशा दिन लाग्यौं, यसो गर्दा लोकतन्त्र बलियो हुने थियो, त्यसमा हामी सफल पनि भयौं, हाम्रो नेतृत्वपंक्ति सफल भयो । तर, विडम्बना चुनावमा हामी जाँदाको समयमा भूकम्पप्रभावितलाई हेर्नेतर्फ र बाढीपीडितहरुलाई राहत पु¥याउनेतर्फ हाम्रो जुन तहबाट ध्यान पुग्नुपर्दथ्यो, त्यो नपुगेको हो कि भन्ने अहिले लागेको छ, जनताले हामीबाट गरेको आशाअनुरुप गर्न नसकेको हो कि जसले गर्दा जनतासँगको सम्बन्ध अलि टाढिएको हुनाले यसो भएको हुन सक्छ भन्ने मलाई लाग्दछ । तर, समस्या हामीमै थियो, हामीले नै अब मिलेर पार्टीलाई बलियो बनाउनुपर्दछ ।

तपाईं सबैको जिम्मेवारी उत्तिकै भनिराख्नुभएको छ, तर केही युवा नेता अझ खासगरी सात भाइले मूल नेतृत्व नै दोषी हो भनिराख्नुभएको छ त ?

हेर्नुहोस् अरुलाई दोष लगाउन सजिलो छ । अरुलाई औंला ठड्याएर निकास निस्कँदैन, पार्टी भनेको व्यक्ति होइन । पार्टीमा मुख्य भनेको केन्द्रीय समिति हो त्यहाँ तपाईं सात भाइ भन्दै हुनुहुन्छ, उहाँहरु पनि हुनुहुन्छ, अरु युवानेताहरु पनि हुनुहुन्छ । केन्द्रीय समितिमा उहाँहरुले त्यसलाई कसरी उठाउनुभयो ? यदि पार्टीको नीति नै सही थिएन भने किन केन्द्रीय समिति बैठकमा चुप लागेर बस्नुभयो ? भूकम्प, बाढी प्रकोप, नाकाबन्दी लगायतको समयमा पार्टीले भूमिका खेलेन, चुनावमा एजेण्डाविहीन भयो जस्ता कुरा उठाएर आफूले त्यसको जिम्मेवारी नलिने र त्यसको दोष नेतृत्व अझ त्यसमा पनि केहीलाई लगाउने काम भएको छ यो सही होइन, दोष हामी सबैमा छ ।

सात भाइमध्ये खोइ अहिले कति हुनुहुन्छ, तर उहाँहरुले बुझ्नुपर्दछ कि नेतृत्व भनेको केन्द्रीय सदस्य पनि हो, ल भनौं चुनावको समयमा आफ्नो निर्वाचन क्षेत्र छोडेर उहाँहरुको चाहि अर्को निर्वाचन क्षेत्रमा जानुभयो, आफ्नै निर्वाचन क्षेत्रसँग जोडिएको अर्को निर्वाचन क्षेत्रमा सम्म जानुभएन, आफ्नो जित कसरी हुन्छ भन्नेमै ध्यान गयो, हारिन्छ भन्ने डरले काम ग¥यो यसको अर्थ उहाँहरुमा आफूले पनि सही गरिनेछ भन्ने चिन्ता रह्यो, यसर्थ सबैको जिम्मेवारी हो ।

युवाहरुको कुरा गर्नुहुन्छ, केन्द्रीय समिति कुन चाहिं युवालाई टिकट दिनुपर्दछ भनेर को चाहिं बोल्यो ? पहिला आफ्नो सिटमै ध्यान रह्यो आफूले पाएपछि सबै ठीक अर्कोले पाउँदा बेठीक ? यस्तो प्रवृत्ति रह्यो अनि कसरी हुन्छ ? टिकटमा यो उसको नजिक छ भनेर तगारो हाल्ने अनि अहिले सही मान्छेले टिकट पाएनन् भन्ने त्यसैले अहिले आरोप लगाउनेभन्दा मूल कुरा मिलेर आफैंले आत्मालोचना गर्दै संगठन सुधार्नुपर्दछ ।

यसै सन्दर्भमा अर्को कुरा आफ्नै सरकारले गरेको संघीय संरचनालाई आँच आउने गरी अर्को पार्टीले गरेको कार्यक्रममा गएर सरकारकै आलोचना गर्ने, राष्ट्रियता विपरीतको पार्टी हो भन्ने हिसाबले बुझाइ बसाल्न भूमिका खेल्ने, केपी ओलीलाई राष्ट्रवादी बनाउने अनि एमालेले जित्यो यसको दोष नेतृत्वको हो भन्ने यो हास्यास्पद नै हो । फेरि पनि म भन्छु कसैलाई दोष लगाएर हुँदैन अब सबैले आ–आफ्नो जिम्मेवारीअनुरुप पार्टीलाई योगदान दिनुपर्दछ, चोक–चोक, चिया पसल, पुस्तक पसल जहाँ पायो त्यहीं, फेसबुकका भित्ताहरुमा पार्टी र नेतृत्वलाई खुइल्याउन पछि नपर्ने अनि हारको दोष लगाउने यो सही होइन भन्ने हो ।

के उसो भए नेतृत्वको यसमा केही भूमिका होइन त ?

नेतृत्वको भूमिका होइन भन्ने होइन, नेतृत्वलाई केवल व्यक्तिसँग जोड्ने कुरा होइन, नेतृत्व भने केन्द्रीय समिति हो । जिल्लाको हकमा जिल्ला समिति हो, नगरको हकमा नगर समिति हो, वडाको हकमा वडा इकाई हो, त्यहाँ रहेका नेताहरु हो । सबैको भूमिका यसमा छ । तर, यसलाई यसरी नहेरी गुटको हिसाबले मात्रै यो नेताको भूमिका बेठिक यसको सही भन्ने हँुदैन । कहिलेकाहीं सिद्धान्तको पनि कुरा उठ्छ, विचारको पनि कुरा उठ्छ, नीतिको पनि हुन्छ, यो सबैमा केन्द्रीय समितिको भूमिका अहम् हुनुपर्दछ । हो, पदका हिसाबले थोरधेर हुन सक्दछ, म तरुण दलको अध्यक्षको हिसाबले तरुणलाई परिचालन गर्न सकिने त्यसको जिम्मेवारी म लिन्छु अरुले आफ्नो जिम्मेवारीअनुरुपको भूमिका लिनुप¥यो ।

प्रसंग बदलौं, राष्ट्रपतिविरुद्ध सडकमा उत्रनुभयो, त्यो विरोधका लागि विरोध त थिएन नि ?

राष्ट्रपति देशको अभिभावक हो र हुनुपर्दछ । पार्टीगत हिसाबले चुनावमा जाँदा हाम्रो पार्टीले हाम्रा प्रतिनिधिले भोट दिनुभएन होला तर पनि राष्ट्रपति भनेको अभिभावक हो । र, त्यहीअनुरुपको भूमिका रहनुपर्दछ । उम्मेदवार बन्दा र जितेपछि पनि त्यही रुपमा आफूलाई उभ्याउने प्रयास उहाँबाट पहिलादेखि नै भएको हो । त्यसै क्रममा पछिल्लो पटक सरकारले सिफारिश गरेको नामलाई उहाँले स्वीकृत गर्नुभएन, बरु एल्टै सांसद नै नभई सांसदको शपथसमेत नलिई, आवश्यक संसदीय प्रक्रिया समेत नपु¥याई संसदीय दलको नेतासमेत नभएको व्यक्तिलाई प्रधानमन्त्रीको शपथ खुलाउनुभयो । उल्टै अवैधानिक रुपबाट बनेको सरकारको सिफारिबलाई सदर गर्नुभयो । संविधानको रक्षकबाटै यस्तो हुन्छ भने चुप लागेर बस्ने कुरा भएन हामी सडकमा निस्कियौं त्यो खबरदारी थियो । यस्ता कार्यको विरुद्ध खबरदारी रहन्छ । पछिल्लो समय केपी ओली नेतृत्वको सरकार र स्वयम् केपी ओलीमा दुई तिहाईको दम्भ देखिएको छ, व्यक्तिगत रुपमा गोपाल पराजुली सही थिए या थिएनन् त्यो फरक पाटो हो तर उनलाई जसरी दुई तिहाइको दम्भ देखाएर एउटा कर्मचारी लगाएर पदमुक्त गराइएको छ, यो न्यायालयमाथिको प्रहार हो, न्यायालयलाई कमजोर पार्ने खेल हो, हामी यस्तो गर्न सक्छौं भनेर त्रास देखाउन खोजिएको हो भन्ने हाम्रो ठम्याइ हो । लोकतन्त्रलाई कमजोर पार्ने कोसिसस्वरुप बहुमत हुँदाहुँदै अनावश्यक रुपमा दुई तिहाईको दम्भ देखाउन मधेशी दललाई ल्याइएको छ । प्रधानमन्त्रीले गुप्तचर निकाय, राजस्व अनुसन्धान, सम्पत्ति सुदृढीकरण लगायतका निकाय आफ्नो मातहत ल्याएर शक्ति केन्द्रित गरेर तर्साउन खोजेका छन् तर कांग्रेस इतिहासमै कसैसँग तर्सिएको छैन, तर्सिनेवाला पनि छैन ।

कानुनी राज, न्यायालय र दण्डहीनता अन्त्यको कुरा गर्नुभयो, अनि फेरि प्रहरीले गणेश लामा पक्राउ गर्दा यत्रो कोलाहल किन ?

होइन, यस सन्दर्भमा मेरो प्रष्ट विचार छ । गलत गर्नेलाई कारबाही हुनुपर्दछ । तरुण दल अन्य पार्टीका युवा संगठनहरु जस्तो गलत कामलाई संरक्षण गर्ने दस्ता होइन, हुँदैनौं पनि । गणेश लामाको जुन कुरा छ, उहाँ हाम्रो पार्टीबाट टिकट पाएको व्यक्ति, चुनाव अघि पार्टीमा प्रवेश गर्नुभएको हो । उहाँलाई पक्राउ गरेपछि काभ्रेमा जुन लामाको गृह जिल्ला हो, त्यहाँ साथीहरुले विरोध गर्नुभएको छ, आफ्नो नेतालाई छुटाउन माग गर्नुभएको छ, त्यसमा तरुण दलले टीका–टिप्पणी गर्नुपर्ने देख्दिन । तर, सत्य के हो भने लामा पक्राउ पर्छ भने विराटनगरको परशुराम बस्नेत किन पक्राउ पर्दैन ? प्रहरीको पक्राउ सूचीमा रहेका नवराज सिलवाल पक्राउ हुनुको साटो पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको गाडीमा चढेर बालुवाटार गएर प्रधानमन्त्री केपी ओलीको छेउमा किन बस्छन् ? दावा लामाहरु किन पक्राउ पर्दैनन्, प्रश्न यहाँ हो । यो सरकारले साँच्चिकै अपराध नियन्त्रण गर्न खोजेको हो भने बस्नेत, सिलवाल, लामा, मनांगेहरुलाई पक्राउ गरोस् नत्र राजनीतिक आस्थाका आधारमा अपराधीको बिल्ला भिराएर यो सरकारले विभेद गरेको छ, यो मान्य हुन सक्दैन । हामी त कानुनी राजको पक्षमा छौं, टोले गुण्डासमेत नहोस् भन्ने चाहन्छौं । त्यो गरोस्, सुरुवात तिनै परशुरामहरुबाट गरोस् । नत्र आस्थाका आधारमा यस्ता गतिविधि हुन्छ । लोकतन्त्रलाई कमजोर पार्ने अन्य कुनै गतिविधि हुन्छ भने तरुण दल चुप बस्दैन, आन्दोलनमा जान्छ र जाँदा तलमाथि भए आफ्ना कार्यकर्ताको जिम्मा म अध्यक्ष भएको हिसाबले मैले लिनेछु ।

तरुण दलले आन्दोलन गर्छ भन्नुहुन्छ अहिलेसम्म तरुण दलको केन्द्रीय समितिले पूर्णता पाएको छैन ? चार जनामै सीमित छ ?

यसबारे मैले नेताहरुलाई आग्रह गरिरहेको छु । अब छिट्टै समितिले पूर्णता पाउला । समिति नहुँदा काम गर्न सकिएको छैन, चुनावमै पनि जति तरुण दलले गर्न सक्थ्यो त्यति गर्न नसकेको अनुभूति भएको छ । हामी ४ जना भए पनि अब तरुण दललाई सक्रिय बनाउन लागेका छौं । नेताहरुले अब छिट्टै समितिलाई पूर्णता दिनुहुनेछ, हात–खुट्टा बाँधिएको जस्तो भएका छौं । तर पनि पछिल्लो पटक जिल्ला अध्यक्षहरुको भेला ग¥यौं, प्रशिक्षण ग¥यौं अब प्रदेशहरुमा प्रशिक्षणको कार्यक्रम राखेका छौं । अब तरुण दलमा कुनै गुट–उपगुट हुने छैन, सबैलाई मिलाएर संगठन निर्माणतर्फ पनि लाग्नेछौं ।

-विश्वसन्देश पाक्षिक  :डालस, अमेरिका ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *