२०८१ वैशाख १४ गते | 26th of April 2024

कास्कीमा महिला उम्मेदवार श्रीमानबाटै कुटीइन्

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख २८ गते १३:०७

पोखरा, २८ बैशाख ।
उम्मेदवारी फिर्ता नगरेको भन्दै कास्कीकी एक महिला उम्मेदवार श्रीमानबाट निर्घात कुटीएकी छन् । रुपा गाउँपालिका वडा नम्बर ५ मा माओवादी केन्द्रबाट महिला सदस्यको उम्मेदवार बनेकी पद्मा खड्का गुरुङलाई बुधबार राति उनका श्रीमान यामबहादुर गुरुङले कुटपिट गरेका हुन् ।
कुटपिटबाट सख्त घाइते भएकी खड्कालाई पोखराको फेवा सिटी अस्पतालमा भर्ना गरिएको छ । श्रीमानले बाँसको चिरपटले टाउको, ढाड र हातमा प्रहार गरेको उनले बताइन् । कुटपिटबाट पद्माको दाहिने हात भाँचिएको छ । उनको टाउकोमा समेत ४ वटा टाँका लगाइएको छ । हातको हड्डी नै भाँचिएकोले शल्यक्रिया गरेर स्टिल राख्नुपर्ने अस्पतालका चिकित्सकले बताएका छन् ।
खड्काका जेठाजु टेकबहादुर गुरुङ एमालेबाट वडाअध्यक्षको उम्मेदवार हुन् । उनले जेठाजुकै निर्देशनमा कुटपिट भएको आरोप लगाइन् । खड्काका श्रीमान पोखराको टुकी रिसोर्टमा सुरक्षा गार्डको काम गर्छन् । आफू माओवादी केन्द्रबाट उम्मेदवार बनेपछि जेठाजुले भाइलाई बोलाएर कुट्न लगाएको उनले बताइन् ।
‘श्रीमानले पहिलेदेखि नै उम्मेदवारी फिर्ता लिन धम्की दिनुहुन्थ्यो,’ उनले भनिन्, ‘मैले तपाईं दाइलाई जिताउन लाग्नुस् म आफैं लड्छु भनेकी थिएँ ।’
खड्काले बुधबार दिउँसो सासुससुराको घरमा पुजाको बेला श्रीमान–श्रीमतीबीच उम्मेदवारीकै विषयमा खटपट परेपछि घरमा आएर घाँटी थिचेर मार्ने प्रयास गरेको बताइन् । ‘पुजामा मैले मेरो प्रचार गरिरहेको थिएँ,’ घाँटीमा औंलाको डाम देखाउँदै उनले भनिन्, ‘श्रीमानले देखि सहेनन् ।’ उनले हातको शल्यक्रिया गर्ने वित्तिकै गाउँमा गएर चुनावमा खटिने कान्तिपुरसँग बताइन् ।
उनले अन्तरजातीय विवाह भएकोले पनि घरमा कसैले नसहेको सुनाइन् । १२ वर्षअघि प्रेम विवाह गरेको जोडीको १ छोरा र २ छोरी छन् । उनका श्रीमान भूतपूर्व नेपाली सैनिक हुन् । अर्घाखाँची माइती भएकी खड्काको परिवार माओवादी केन्द्र निकट भएको उनले जनाइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *