२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

अपनत्वको अभावमा आत्मसम्मान गुमाएको कांग्रेस – हरिबोल भन्डारी

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७५ वैशाख १८ गते १८:१८

हरिबोल भण्डारी

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सकिएको छ । यो केन्द्रीय समिति बैठक प्रादेशिक र संघीय चुनावमा अनपेक्षित नतिजा आएपछिको बैठक थियो । आफ्नो एजेण्डाले जितेको चुनावमा गणितीय रुपमा कांग्रेस प्रतिपक्षमा पुगेपछिको यो बैठकले विगतको समीक्षा, वर्तमानको विश्लेषण र भविष्यको सुखद् गोरेटो बुन्ने आशा कांग्रेसी कार्यकर्ता शुभेच्छुकले गरेका थिए । चुनावी नतिजाले प्राविधिक रुपमा कांग्रेस पार्टीलाई प्रतिपक्षमा पु¥याएको मात्र छैन, देश भोलि कता जान्छ भन्ने चिन्ता पनि थपेको छ ।

कांग्रेसको नेतृत्वमा संविधानसभाबाट संविधान जारी गरेपछि भएको निर्वाचनमा मिलेको मतपरिणामले कांग्रेसका कार्यकर्ता र शुभेच्छुकहरुलाई चिन्तित बनाएको छ । जिल्ला, गाउँ, वडा तहसम्मै कांग्रेसी कार्यकर्तालाई यो नतिजाले शिथिल बनाएको छ । र, सँगसँगै पार्टी केन्द्रीय नेतृत्वले अब पार्टीलाई कसरी अझ बढी चलायमान बनाउँछ भन्ने व्यग्रता पनि उनीहरुमा उत्तिकै रहेको छ । यो अवस्थामा बसेको केन्द्रीय समितिको बैठकको गम्भीरता अझ बढेको थियो । पार्टी केन्द्रीय समितिको यो बैठकले पार्टीलाई नयाँ शिराबाट अझ ऊर्जाशील बनाउने नीति अंगीकार गर्छ होला भन्ने आशा मात्र कार्यकर्ताहरुले राखेका थिएनन् यो हुन्छ भन्नेमा पूर्ण विश्वस्त पनि थिए ।

तर, विडम्बना न त हिजोको जस्तो इतिहासको नै निरन्तरता न कुनै फरक कुराको प्रारम्भ वा नयाँ अध्यायको नै थालनी । दुबै विषयलाई ओझेलमा पार्दै कार्यकर्ताको आशा जोडिएको एक महिना बढी चलेको बैठक अपेक्षामा खरो नउत्रिकन सकिएको छ । सिंगो कांग्रेसजनले यो बैठकबाट कांंग्रेसलाई थप ऊर्जा मिल्ने र गतिशील हुने अपेक्षा र अनुमान गरेका थिए ।

विगत एक वर्षभन्दा लामो समयदेखि सिंगो देश सबै तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचनमय भएको र सबै तहको निर्वाचन सम्पन्नपश्चात् कांंग्रेसले व्यहोरेको शर्मनाक हार तथा यसका पृष्ठभूमिमा भए–गरेका विभिन्न गतिविधिहरूका विषयमा चालु केन्द्रीय समितिको बैठकले सूक्ष्म तरिकाले अध्ययन, विमर्श र घनीभूत छलफल हुनु आवश्यक थियो । सँगसँगै, अबको यात्रा प्रारम्भको सूत्र पहिल्याउनु पनि जरुरी थियो । आखिर अनपेक्षित नतिजा के कारणले आयो, यसको बारेमा ठोस निर्णयमा पुगी भोलिको कांग्रेसको गन्तव्य पहिल्याउँदै देश तथा विदेशमा रहेका कांग्रेस कार्यकर्तामा नयाँ जोस र उमंग ल्याई खस्किएको कांग्रेसको साखलाई उकास्नु र जोगाउनुको साटो जिम्मेवार र शीर्ष नेतृत्व तहमै आसिन नेताहरू उल्टो बर्बराउँदै हिंड्न थाल्नु कांंग्रेसका लागि पक्कै पनि शुभ संकेत होइन । यसले नेतागणहरूमा रहेको राजनीतिक नेतृत्वदायी क्षमता तथा राजनीतिक नेतामा हुनुपर्ने दूरदर्शिताको अभाव सहजै मापन गर्न सकिन्छ ।

केही समय पहिला मात्र सम्पन्न सबै स्थानीय, प्रादेशिक र संघीय तहको निर्वाचनमा नेपाली कांग्रेसले यस्तो किसिमको हार व्यहोर्नुका पछाडि धेरै खाले आआफ्नै विचार, तर्क र वितर्कहरू छन् । यसलाई सबै नेताहरूले आफू अनुकूल व्याख्या गर्दै आएका थिए र छन् । तर केन्द्रीय समितिको चालु बैठकले यो सम्बन्धमा सबै नेताहरूलाई एकआपसमा एकाकार गराई यस मुद्दालाई गहन र जिम्मेवार हिसाबले लिँदै भविष्यमा समेत यस्ता चुनौतीको सामना कसरी गर्ने र गर्न सक्ने कांग्रेस निर्माणमा लाग्दछन् भन्ने सबैको आशालाई गर्वमै राखे, उच्च नेतृत्व तहमा भएका शीर्ष नेताहरूमा जीवित व्यक्तिवादी सोंच, जुँगाको लडाइँ र अहमताले नेपाली कांग्रेसलाई कहाँ र कुन अवस्थामा पु¥याउने हो ? यो चाहिं भविष्यले देखाउला ?

नेपाली कांग्रेस पार्टीभित्र मौलाएको समूहगत विकास, नेतापिच्छेको गुट र उपगुट र सोहीअनुरूप भागबण्डाका आधारमा गरिने मूल्याङ्कन, तोकिने जिम्मेवारीसँगै निर्वाचनमा गरिने टिकट वितरणले गर्दा क्षमता र त्यागका आधारमा आफ्नो राजनीतिक हैसियत स्थापित र निर्माण गरेका कर्मठ तथा कांग्रेसका लागि कांग्रेस भएका कार्यकर्ताहरूको मनोबल गिरेको छ । विचार, सिद्धान्त र अडानमा रहने कार्यकर्ताभन्दा पनि केही प्राप्त गर्नका निम्ति नेताकै घरघरमा धाउनु नै पर्ने परिपाटीको निर्माण, अनावश्यक चाकरी र चाप्लुसीमा आनन्द लिने नेता र यस्तै किसिमका कार्यकर्ताहरूको खोजीमा उनीहरू लोभिनु र सोहीअनुसारको निर्णय र व्यवहार देखाउनु कांग्रेसका लागि दुर्भाग्य नै साबित भयो ।

नेपाली कांग्रेसको हारका बारेमा केन्द्रीय समितिको बैठकमा जे–जति छलफल र विमर्श भयो । त्यसलाई तपसिलमा राख्दै बाहिर आएका विषय र पार्टीको दस्तावेजमा लेखिएको निर्णयलाई मात्र आधार मान्ने हो भने पनि यसबाट हामीले छुट्कारा पाउने र आत्मसन्तुष्टि लिने कुनै ठाउँ छैन । विगतमा भएका कमी–कमजोरीहरूको महसुस गर्दै पुनः हामीबाट यस्तै गल्ती र कमजोरी हुन सक्दैन भनेर आम कार्यकर्तामाझ भन्न र स्वीकार गर्ने हिम्मत शीर्ष केन्द्रीय नेताहरूमा नहुनु भनेको मनोमानी र आफूखुसी ढंगले विषयलाई तोडमोड र गोलमोटल गर्दै आफ्नो अपरिपक्व राजनीतिक चरित्रलाई उदांगो बनाउनु नै हो ।

विश्व राजनीति इतिहासको अध्ययन मात्र गर्ने हो भने संसारका धेरैजसो देशमा पनि कठिन र प्रतिकूल अवस्थामा नै राजनेताको जन्म भएको छ । र, समाजलाई विकास तथा गतिशील मार्गमा डो¥याएका प्रमाण र तथ्यहरू हामीसामु छ, नेपाली कांग्रेसको सात दशक लामो राजनीतिक यात्रालाई एक–एक गरी केलाउँदा विगतका दिनहरुमा पनि हाम्रा शीर्ष नेताहरूले देश र पार्टीको स्वार्थका निम्ति आफ्नो सम्पूर्ण राजनीतिक जीवनलाई नै तिलाञ्जली दिएको इतिहास छ । आज हामी कसका स्वार्थका निम्ति हाम्रा कुराहरू स्पष्टसँग कार्यकर्ता र जनतासमक्ष राख्न सकिराखेका छैनौं ? किन हामी हाम्रा हारका कारणहरू भन्न डराइराखेका छौं ? पृष्ठभूमिमा जे–जति कुरा उठे पनि हाम्रो हारको प्रमुख कारण आम नेपाली कांग्रेसका कार्यकर्ताहरूमा अपनत्व र आत्मसम्मानको भावनाको विकास हुन नसक्नु नै हो । यदि नेपाली कांग्रेसका आम कार्यकर्ताहरूमा अपनत्व र आत्मसम्मान हुने उपयुक्त वातावरणको निर्माण गर्दै सबैमा यसको भोक जगाउन सकेको भए हामीलाई कसैले हराउन सक्ने थिएन, बाँकी अरू सबै विषय सहायक कारण मात्र हुन् ।

यी त भए हामीले नगरेको र गर्न चुकेका कुराहरु र सँगसँगै अबको हाम्रो यात्रा कता त ? कसरी यस समस्याको निराकरण गर्दै अगाडि जान सकिन्छ त ? यस विषयमा पनि केही आशाका किरणहरू देखिन थालेको छ । लामो समयको एक किसिमको मौनता नै भनौंं, यसलाई भंग जस्तै गर्दै बीपी पुत्र तथा नेपाली कांंग्रेसका निर्र्वािचत महामन्त्री शशांक कोइरालाले केन्द्रीय समितिको बैठकमा प्रस्तुत प्रतिवेदन र व्यक्त धारणाले कांग्रेसको उज्ज्वल भविष्यतर्फ संकेत तथा त्यतातिर उन्मुख देखिन्छ । उहाँले नेपाली कांग्रेसलाई गतिशील र समयसापेक्ष बनाउन जुन प्रकारको धारणा व्यक्त गर्नुभएको छ । यसको ऊर्जा र ताकतले हाम्रो देशभरको संगठनलाई थप प्रभावकारी बनाउन एउटा कोसेढुंगा साबित हुनेछ । यसले विगत केही समयदेखि कांग्रेसभित्र मौलाएको गलत र व्यक्तिवादी प्रवृत्तिलाई समेत गतिलो झापड पुगेको छ । आम कार्यकर्ताको मनोबललाई उच्च राख्दै आत्मसम्मानको भावनाको विकास गराउने तथा सिंगो कांग्रेस पङ्तिलाई यसबाट निर्मित शक्तिले पुनः सिञ्चित गराउने छ ।

अन्त्यमा, हाम्रो राजनीतिक, आर्थिक, भौतिक विकास तथा समृद्धिको बाधक हामीमा नै निहित अदृश्य स्वार्थ र लोभ नै हुन् । यी दुई चिजबाट जबसम्म तपाईं आफूलाई टाढा राख्न र यसबाट छुट्कारा लिन सक्नुहुन्न तबसम्म न त न्याय पाउनु हुन्छ, न अन्यायविरूद्ध लड्ने क्षमता नै तपाईंमा रहन्छ । हामी सबैमा यही खालको भावनाको विकास गर्दै यसलाई जीवनपर्यन्त अटुट राख्नु नै आजको आवश्कता हो ।

(लेखक भण्डारी नेपाली कांग्रेस महासमिति सदस्य हुन्)
साभार : विश्वसन्देश

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']