२०८१ वैशाख १३ गते | 25th of April 2024

भूकम्प पीडितलाई चुनावी चटारो

खुल्लामन्च
 प्रकाशित: २०७४ वैशाख ३० गते १६:२४

प्रकाश ढकाल
गोरखा, ३० बैशाख ।
भूकम्प पीडित उम्मेदवार । मतदाता पनि उस्तै । ७२ सालको भूकम्पले गोरखाका सबैजसो गाउँहरु भूकम्पमा क्षति भए । अहिले मतदाता र उम्मेदवार दुवैको लक्ष्य भुकम्पले ढलेका संरचना ठड्याउने हो । उम्मेदवारहरुको चुनावी मसला बनेको छ, भूकम्प पीडितका ढलेका संरचना बनाईदिने । सबैजसो मतदाताको पीडा एउटै भएपछि उनीहरु पनि उम्मेदवारका पछि लागेका छन्, घर बन्ने आसमा ।
‘भूकम्पले ढलेका घर जसले बनाईदिन्छ, उसैलाई भोट दिने हो, परिचय पत्र बुझ्न मतदान केन्द्र पुगेकी शहिद लखन गाउँपालिकाकी भूकम्प पीडित मिरा धमला भन्छिन्–हाम्रो काँधमा टेकेर धेरै मन्त्री र प्रधानमन्त्री भए । हाम्रा दुखको दिन सँधै उस्तै छ ।’ अहिले भूकम्प पीडितहरुलाई एउटै कुराको चिन्ता छ, ढलेका संरचना ठड्याउने । धेरैजसो पीडितले टहरामै आँफुलाई मन पर्ने पार्टी र उम्मेदवारको झण्डा झुण्ड्याएका छन् ।
भीमसेन गाउँपालिकाका हिमलाल भट्ट पनि भत्केको घर बनाईदिने उम्मेदवारलाई भोट दिने तयारीमा छन् । ‘उम्मेदवारहरु आएर हामी घर बनाउन सघाउछौं भनेका छन् । तर विश्वास मान्ने अवस्था चाहीँ छैन, उनले भने–गाउँभरिकाले घर बनाउने उम्मेदवारलाई भोट दिने सल्लाह गरेका छन् । म पनि त्यस्तै उम्मेदवार खोज्नुपर्ला ।
भूकम्प गएको दुईबर्ष सम्म पनि पुनः निर्माणको काम सुरु हुन सकेको छैन । सबैजसोले पहिलो किस्ता रकम बुझेपनि घर बनाउने आँट कसैले झिकेका छैनन् । उनीहरुले दोश्रो किस्ताको रकम निकाल्नका लागि समेत निबेदन नबुझाएका स्थानीय विकास अधिकारी नारायण आचार्यले जानकारी दिए ।
भूकम्पले अत्याधित क्षति भएको गोरखाका पीडित मतदाता मतदानका लागि तयार छन् । भूकम्पको पीडा भुल्दै उनीहरू भोट हाल्ने दिनको प्रतीक्षामा छन् । चुनावको अगाडि पक्की घर गौण बनेको छ उनीहरूका लागि । चुनावी तयारी पूरा भएकाले पीडित मतदाताले भोट खसाल्न आतुर रहेका निर्वाचन अधिकृतहरुले बताए । यतिबेला गाउँगाउँमा भोट हाल्न फर्केने मतदाताको लर्को छ । विभिन्न पेसा, व्यवसाय गरेर राजधानी काठमाडौं लगायत अन्य ठूला सहरमा बस्ने मतदाता बस रिजर्भ नै गरेर जिल्ला फर्किरहेका छन् । नियमित चल्ने बस भरिभराउ देखिन्छन् । मतदाता फर्केसँगै गाउँगाउँमा चहलपहल बढेको छ ।
स्थानीय सरकार छनौटको लागि चुनाव हुन लागेकाले पनि उनीहरु निकै सचेत पूर्वक चुनावमा सहभागी हुँदैछन् । गोरखाका ११ स्थानीय तहमा आईतबारको चुनावले ४ सय ५० जना निर्वाचित हुँदैछन् । यसका लागि झण्डै २ हजार जनाको उम्मेदवारी परेको छ । गोरखामा २ नगरपालिका र ९ वटा गाउँपालिकाका ९४ वटा वडाका विभिन्न पदमा १ हजार ९ सय ७ जनाको उम्मेदवारी परेको मूख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले जनाएको छ । २ सय १३ वटा मतदान स्थल रहेको गोरखामा २ सय ६० वटा मतदान केन्द्र कायम भएको छ ।
जिल्लाका सबै मतदान केन्द्रको निर्वाचन तयारी पूरा भएको छ । बुधबार खटिएका कर्मचारीहरुले मतदाता परिचयपत्र वितरण गरिरहेका छन् । चुनावी सुरक्षाका लागि म्यादीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली पनि गाउँमा पुगिसकेको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए । स्थानीय चुनावमा पहिलो घेरामा नेपाल प्रहरी र म्यादी प्रहरी हुनेछन् भने दोश्रो घेरामा सशस्त्र तथा तेस्रो घेराको सुरक्षामा नेपाली सेना खटिएका छन् । जिल्लाभर १५ सय बढी कर्मचारी चुनावका लागि परिचालित भएका छन् । नेपालमा झण्डै २० बर्षपछि स्थानीय चुनाव हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *