२०८१ वैशाख १२ गते | 24th of April 2024

सरकारले दुई तिहाईको दम्भ देखाउन थाल्यो – प्रदिप पौडेल

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ ६ गते १७:३२

कास्की – नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले एमाले र माओवादीको एकतासँगै वर्तमान सरकारको काम कार्वाहीमा दुई तिहाईको दम्भ देखिन थालेको बताउनु भएको छ । कास्कीमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य पौडेलले कम्युनिष्ट एकतामा आफूहरुको कुनै आपत्ति नरहेपनि त्यसैको आडमा सरकार गलत दिशातर्फ उन्मुख भए कडा प्रतिवाद गरिने चेतावनी दिनुभयो । संघीयता कार्यान्वयनमा उदास देखिएको वर्तमान सरकार जनतामा अनावश्यक त्रास सिर्जना गर्न लागि परेको पौडेलले बताउनुभयो ।

गृह प्रशासन हुकुमी शैलीमा अघि बढ्न खोजेको आरोप लगाउँदै पौडेलले सबैले ऐन नियमको परिधिमा रहेर मात्र काम गर्नुपर्ने बताउनुभयो । सडक विस्तारमा ढिलासुस्ती गर्ने निर्माण व्यवसायीलाई कार्वाही गर्ने अधिकार भौतिक पूर्वाधार मन्त्रालयलाई छ, तर यसलाई बेवास्ता गर्दै गृहमन्त्रीबाटै हुुकुमी शैलीमा भनाइ आउनु बेठीक हो पौडेलले भन्नुभयो । बेग्लै प्रसंगमा पौडेलले फौजदारी अभियोग लागेका सांसदलाई नियमावली मार्फत् नभई ऐन–कानून मार्फत नै कार्वाहीको दायरमा ल्याउनु पर्ने धारणा राख्नुभयो । त्यस्ता सांसदलाई संसद् नियमावली मार्फत् निलम्बन गर्नुपर्ने सत्ता पक्षको तर्कमा कुनै तुक छैन, ऐन कानून मार्फत् नै कार्वाही हुनुपर्छ पौडेलको भनाइ थियो । पुरानै शैली र रवैयाबाट अब नेपाली कांग्रेस अघि बढ्न नसक्ने भन्दै उहाँले पार्टीमा व्यापक सुधार आवश्यक भएको बताउनुभयो । अहिले जनताले कांग्रेसलाई जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गर्ने जिम्मेवारी दिएकाले कांग्रेस सोही बमोजिम अघि बढ्ने उहाँले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *