२०८१ वैशाख ८ गते | 20th of April 2024

धरपकडका घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण

खुल्लामन्च
 प्रकाशित: २०७५ जेठ २२ गते १७:१७

विभिन्न समस्याका बाबजुद मुलुक निर्माणमा अहोरात्र खटिएका निर्माण व्यवसायीहरुलाई निरुत्साहित गर्ने गरी हालैका दिनमा भइरहेका धरपकडका घटना प्रति आफनो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । निर्माण परियोजनाहरु तोकिएको समयमा नै सम्पन्न नुहुनमा निर्माण व्यवसायीको मात्र दोष नभएतापनि एकोहोरो ढंगले व्यवसायीलाई मात्र आक्षेप लगाई कार्वाही समेत हुन थालेको घटनाप्रति महासंघले कडा आपत्ति जनाएको छ । 

मंगलवार विज्ञप्ति जारी गर्दै महासंघले गलत काम गर्ने व्यवसायीलाई विधि र प्रक्रिया सम्मत कार्वाही गर्न सकिने स्पष्ट आधार हुँदा हुँदै एउटा ठुलै अपराधी जस्तो गरी कार्यस्थलबाटै पक्राउ गरिएका घटनाप्रति आपत्ति जनाएको हो । कुनै पनि निर्माण कार्य भइरहँदा ठेक्का सम्झौता अनुसार उक्त कार्यको अनुगमन तथा निरीक्षण गर्ने संयन्त्रले प्रभावकारी ढंगले काम गर्ने हो भने दोषी कदापि उम्कन पाउँदैन भन्दै विज्ञप्तिमा निदोर्षीलाई कुनै पनि समस्यामा नपार्न तथा दोषी जो कोहीलाई कानुन सम्मत ढंगले न्यायको कठघरामा उभ्याउन अपील गरिएको छ । यसैक्रममा टुन्डी–रमण निर्माण कम्पनीले संयुक्त रुपमा सुचारु ढंगले रानी–विराटनगर–इटहरी–धरान सडक खण्ड निर्माण गरिरहेकै अवस्थामा स्थानीयको गुनासोको आधारमा प्रोजेक्ट म्यानेजर लगायतलाई हिरासतमा लिई कार्वाही गरिएको घटनाप्रति महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

विराटनगर महानगरपालिका प्रमुखकै नेतृत्वमा गुणस्तरहीन कार्य गरेको भनी गत शनिवार प्रोजेक्ट म्यानेजर रविराज पन्त, विनय शाह, सुपरभाइजर देवराज बराल सहित ज्यालादरी कर्मचारीलाई ठेक्का सम्झौतामा उल्लेखित शर्त तथा नियम भन्दा विपरित स्थानीय प्रशासनको सहयोगमा हिरासतमा लिई कार्वाही गरिएको घटनाप्रति दुख व्यक्त गर्दै महासंघले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कार्वाही गर्न जोडदार माग गरेको छ । राज्यको चौथों अंग मानिने विभिन्न संचार माध्यम (छापा, रेडियो, टिभी तथा अनलाइन) हरुमा हालैका दिनमा निर्माण व्यवसायीको प्रतिष्ठामा आँच पुग्ने गरी आइरहेका समाचारले आम व्यवसायीको मानमर्दन भएकाले सत्य तथ्य बुझी व्यवसायीहरुलाई प्रोत्साहित गर्दै स्थायी रुपमा समस्या समाधान हुने गरी यथार्थ समाचार सम्प्रेषण गरिदिन महासंघले विज्ञप्ति मार्फत अनुरोध गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *