२०८१ वैशाख १३ गते | 25th of April 2024

विश्वकपको राउन्ड अफ सिक्सटिनमा को को पुगे, भाग्य कस्को ?

खुल्लामन्च
 प्रकाशित: २०७५ असार १० गते १०:२५

काठमाडौं – रुसमा भइरहेको विश्वकप फुटबलमा आइतबार दोस्रो चरणका अन्तिम तीन खेल हुँदै गर्दा राउन्ड अफ सिक्सटिनमा पुग्ने सबै टिमको टुंगो अझै लागेको छैन ।

समुह ए बाट टुंगो लागेको छ । रुस र युरुग्वे समान ६–६ अंकसहित राउन्ड अफ सिक्सटिन मा पुगेका छन् भने एक खेल खेल्नुअघि नै इजिप्ट र साउदी अरेबिया बाहिरिएका छन् ।

समुह बी बाट अंकविहिन मोरक्को बाहिरिएको छ भने स्पेन र पोर्चुगलको ४–४ अंक छ भने इरानको ३ अंक छ । तेस्रो चरणको भिडन्तबाटै २ टिमको टुंगो लाग्नेछ ।

अन्तिम समुहका खेलमा इरान र पोर्चुगल तथा स्पेन र मोरक्को खेल्नेछन् ।
समुह सी बाट दुवै खेल जितेर फ्रान्स राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने डेनमार्कको ४ तथा अष्ट्रेलियाको १ अंक छ । अंकविहिन पेरु बाहिरिइसकेको छ ।

अन्तिम खेलमा अष्ट्रेलिया र पेरु तथा डेनमार्क र फ्रान्स भिड्दै छन् । फर्ममा नरहेको पेरुमाथि अष्ट्रेलियाले फराकिलो जित हात पार्दा यदि फर्ममा रहेको फ्रान्सले डेनमार्कलाई पनि हरायो भने अष्ट्रेलिया राउन्ड अफ सिक्सटिनमा पुग्ने सम्भावना छ ।

समुह डी बाट क्रोएसिया ६ अंकसहित राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने ३ अंकको नाइजेरिया र १–१ अंकका आइसल्याण्ड र अर्जेन्टिनामध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछ ।

अब मंगलबार आइसल्याण्डले क्रोएसिया र अर्जेन्टिनाले नाइजेरियासंग खेल्नेछ । उपाधिको दावेदार तथा डिफेन्डिङ रनरअप अर्जेन्टिनाले राउन्ड अफ सिक्सटिनमा पुग्नका लागि नाइजेरियामाथि फराकिलो जितलेमात्र पुग्ने छैन क्रोएसियाले पनि नवप्रवेशी आइसल्याण्डलाई हराउनु पर्ने हुन्छ ।

समुह इ बाट अंकविहिन कोस्टारिका बाहिरिँदा ब्राजिल, स्वीट्जरल्याण्ड र सर्बियामध्ये दुई टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । ब्राजिल र स्वीट्जरल्याण्डको ४–४ तथा सर्बियाको ३ अंक छ ।

अन्तिम खेलमा ब्राजिल र सर्बिया तथा स्वीट्जरल्याण्ड र कोस्टारिका भिड्ने छन् ।

समुह एफ बाट दुवै खेल जितेर मेक्सिको राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने समान ३ अंकका जर्मनी र स्वीडेनमध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् । अंकविहिन दक्षिण कोरिया भने बाहिरिएको छ ।
अन्तिम खेलमा मेक्सिको र स्वीडेन तथा जर्मनी र दक्षिण कोरिया भिड्ने छन् । यो समीकरणले जर्मनीको सम्भावना बढी भएको छ । पहिलो खेलमा जर्मनी मेक्सिकोसंग १–० ले पराजित भएको थियो ।

समुह जी बाट बेल्जियम ६ अंकसहित राउन्ड अफ सिक्सटिनमा पुगिसकेको छ भने इंगल्याण्ड १ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ । १ खेलबाट पानामा अंकविहिन छ भने २ खेलबाट अंकविहिन ट्युनिसिया बाहिरिएको छ ।

इंगल्याण्ड र पानामामध्ये एक टिम राउन्ड अफ सिक्सटिनमा पुग्नेछ । अन्तिम भिडन्तमा इंगल्याण्ड र बेल्जियम भिड्दै छन् भने पानामा र ट्युनिसिया खेल्दैछन् । फर्ममा रहेको बेल्जियमले युवा खेलाडीहरुले भरिएको इंगल्याण्डमाथि फराकिलो जित निकाल्दा पानामाले पनि अझ फराकिलो जित ट्युनिसियामाथि निकालेका खण्डमा इंगल्याण्ड बाहिरिने छ ।

समुह एचबाट एक चरणकोमात्र खेल भएकाले सबैको उत्तिकै सम्भावना रहेको छ । दुवै खेल आइतबार हुँदैछन् । जापानले पोल्याण्डसंग र कोलम्बियाले सेनेगलसंग खेल्नेछ ।

पहिलो चरणमा जापान र सेनेगल विजयी भएकाले आइतबार पनि यिनै टिम विजयी भए राउन्ड अफ सिक्सटिनमा पुग्नेछन् भने उल्टो नतिजाले तेस्रो चरण सबैभन्दा रोचक बन्नेछ । र, राउन्ड अफ सिक्सटिनको ढोका सबैका लागि खुल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *