२०८१ वैशाख ८ गते | 20th of April 2024

पुर्ववर्ती सरकारका नियुक्ति खारेजी अधिनायकवादको पराकाश्ठा : निधि

खुल्लामन्च
 प्रकाशित: २०७५ असार २१ गते १९:१७

जनकपुरधाम – कांग्रेस उपसभापति विमलेन्द्र निधिले अघिल्लो सरकारले गरेका निर्णयहरू बदर गरेर नेकपा अध्यक्ष केपी ओली नेतृत्वको सरकारले अलोकतान्त्रिक र अधिनायकवादी व्यवहार देखाएको आरोप लगाएका छन् ।

कांग्रेस धनुषा–३ ले बिहीबार जनकपुरमा आयोजना गरेको क्षेत्रीय सम्मेलनमा बोल्दै निधिले शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय बदर गर्नु बदला र प्रतिशोध मात्र रहेको टिप्पणी गरे ।

‘सरकारले लोकतान्त्रिक मर्यादाविपरित निर्णय गरेको छ,’ निधिले भने, ‘यो अधिनायकवादको अर्को प्रमाणको रूपमा जनतासामु आएको छ ।’

सरकारले एकपछि अर्को सर्वसत्तावादी काम गरिरहेको उल्लेख गर्दै पूर्वउपप्रधानमन्त्री निधिले सरकारले व्यवहार सुधार नगरे सडक र संसद्बाट संघर्ष गर्न बाध्य हुने बताए ।

निधिले भने, ‘अधिनायकवाद धेरै चल्न सक्दैन, जनता प्रतिवादमा आउने छन् ।’ वर्तमान सरकारको अधिनायकवादविरुद्ध संघर्षका लागि तयार रहन उनले कार्यकर्ताहरूलाई आव्हानसमेत गरे ।

विरोध गर्ने स्थानहरूलाई निषेधित क्षेत्र तोक्नु, अनशनको माध्यमबाट विरोध गर्न नदिनु र गंगामाया अधिकारीको मागबारे कुनै वास्ता नगर्नु सरकारको अलोकतान्त्रिक र अमानवीय व्यवहार रहेको निधिले बताए ।

संविधानमा सभामुख र उपसभामुख फरक पार्टीको हुनुपर्ने व्यवस्था रहे पनि सरकारले त्यसो गर्न नचाहेको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *