२०८१ वैशाख ८ गते | 20th of April 2024

रेखा थापाका ‘प्रेमी’ गौतमलाई मानव तस्करीको आरोप

खुल्लामन्च
 प्रकाशित: २०७५ साउन १२ गते १०:४०

काठमाडौं – जब हिम्मतवाली रिलिजको मेसोमा थिइन् अभिनेत्री रेखा थापा उनका केही तस्बिर र अन्तरवार्ताहरू चर्चामा आए । त्यस फिल्मका अभिनेता सुदर्शन गौतम र रेखाबीच प्रेम रहेको चर्चा चल्यो । रेखाले पनि यो प्रेम नै रहेको भनी ‘ग्रिन सिग्नल’ दिइन् । सुदर्शनले त हाकाहाकी रेखासँग प्रेम सम्बन्धमा रहेको घोषणा नै गरे ।

कतिसम्म भने एउटा साप्ताहिक पत्रिकामा सुदर्शनलाई काखैमा राखेको तस्बिरसहित रेखा सार्वजनिक भइन् । र, उनले प्रेमको स्विकारोक्ति गरिन् ।

फिल्म रिलिज भएको महिना दिन वित्दै जाँदा यो जोडीको चर्चा मिडिया हुन थाल्यो । अहिले रेखा ‘मालिका’ फिल्मको दौरानमा छिन् तर सुदर्शन भने इन्टरपोलको खोजी सूचीमा परेका छन् । रेखाको सुदर्शनसँग अहिले कस्तो सम्बन्ध छ त्यो त खुलेको छैन तर उनका कथित प्रेमी मानव तस्कर निस्किएका छन् ।

क्यानडाको स्थायी बसोबास अनुमति पाएका सुदर्शनलाई नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)मा पत्राचार गरी पक्राउका लागि निवेदन गरेको छ । दुई हात नभएका सुदर्शन विवादीत पात्र त्यसबेलै थिए जतिबेला उनले एक पत्रकारलाई फोनमा अपशव्द प्रयोग गरी गाली गरेको अडियो सार्वजनिक भएको थियो । अहिले उनी मानव तस्कर भएको प्रहरीले ठहर गरेको छ ।

नेपालबाट विभिन्न देश हुँदै अमेरिकामा मानव तस्करीका मुख्य नाइके सुदर्शन नै रहेको प्रहरीले ठम्याएको छ । उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा परेको छ ।

तीन युवतीलाई अमेरिका लैजाने भन्दै अफ्रिकी युद्धग्रस्त मुलुक हाइटीमा अलपत्र पारेको र एक युवतीको समुद्रको नुनिलो पानी खाएर मृत्यु भएको प्रहरी अनुन्धानले खुलाएको छ । सुमित्रा कुँवर कटवालको त्यसरी मृत्यु भएको हो ।

हाइटीबाट फर्किएका युवतीको उजुरीका आधारमा गौतमविरुद्ध मुद्दा दायर गरिएको छ ।

महानगरीय अपराध महाशाखाले गौतमको मानव तस्करी गिरोहमा आबद्ध बाग्लुङका सागर श्रीषसहित ४ जनालाई गत महिना पक्राउ गरेको थियो । उनीहरू चारै जनालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ । गौतम फरार अभियुक्त सूचीमा छन् ।

रामेछापकाका गौतम क्यानाडाका नागरिक भइसकेका छन् । उनी त्यहाँ रेस्टुरेन्ट लगायत विभिन्न व्यवसाय गर्दै आएका छन् । केही समयअघि सगरमाथाको आरोहण गरेपछि उनको चर्चा चल्यो र रेखा थापाले उनलाई हिम्मतवालीमा अभिनेता बनाइन् ।

फिल्मको सुटिङका नाममा युवती तस्करी गरी अमेरिकासम्म पुराउने जुक्ति सुदर्शनले निकालेका थिए । ७ घन्टामा अमेरिका पुग्ने सपना बोकेर नेपाली युवतीसहितको समूह पानीजहाजमा पुगेका थिए । एक बर्षअघि नै यो घटना भए पनि पीडितसँग सम्पर्क गरी प्रहरीले एक महिनादेखि घटनामा गहन अनुसन्धान थालेको थियो ।

‘अपराधको श्रृङ्खला र यससँग जोडिएका अन्य पात्रमाथि पनि अनुसन्धानको दायरा बढाइन्छ’, अपराध महाशाखाका अधिकारी भन्छन्,‘सुदर्शन गौतमलाई पक्राउका लागि पत्राचार भइसकेको छ उनी क्यानडाका नागरिक भएका कारणले उनलाई उतै पनि पक्राउ गरी नेपाल ल्याउने कसरत पनि भएको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *